भोेलि (बुधबार) हुने राष्ट्रियसभा निर्वाचनको तयारी दाङमा तीव्र रूपमा भइरहेको छ।
५ नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले भोलि हुने निर्वाचनको तयारी तीव्र पारिएको बताए। घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको र मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताए।
एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले मतदान गर्ने गरि मतदान केन्द्रको निर्माण गरिने मुख्य निर्वाचन अधिकृत रावलले सेतोपाटीलाई बताए।
‘अरु सम्पूर्ण तयारी पूरा भइसकेको छ र आजै दिउँसोसम्म मतदान केन्द्र पनि निर्माण गरिसक्छौं,’ निर्वाचन अधिकृत रावलले भने। उनले मंगलबार बिहानैदेखि खुला मैदानमा मतदान केन्द्र निर्माणको काम थालनी गर्ने तयारी गरिएको भएपनि पानीपर्ने जस्ता अवस्था देखिएको हुँदा केही बिलम्व गरिएको बताए। ‘पानी पर्लाजस्तो अवस्था देखिएको छ, त्यसैले मतदान केन्द्रमा टेन्ट लगाउने कि के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ,’ निर्वाचन अधिकृत रावलले भने।
५ नम्बर प्रदेशमा ३ सय ५ जना मतदाता
भोलि हुने निवार्चनमा ५ नम्बर प्रदेशमा ३ सय ५ जना मतदाता रहेका छन्। निर्वाचन अधिकृत रावलका अनुसार ५ नम्बर प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र २ सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार प्रति व्यक्ति १८ निर्धारण गरिएको छ।
उनीहरूले ५ जना राष्ट्रियसभा सदस्य निर्वाचित गर्नेछन् । ३ जना अन्यबाट, १ जना दलितबाट र १ जना अपाङ्गता र अल्पसंख्यकबाट गरि ५ जना निर्वाचित गर्न भोलि मतदान हुन लागेको हो ।
यो प्रदेशबाट यसअघि नै ३ जना महिला नेकपा एमालेबाट कोमल वली (दाङ), एमालेकै मीना बुढा (रोल्पा) र नेपाली कांग्रेसको तर्फबाट अनिता देवकोटा (दाङ) निर्विरोध निर्वाचित भइसकेका छन्। भोलिको मतदानबाट ५ जना निर्वाचित हुने भएपनि चुनावी प्रतिस्पर्धामा ८ जना मैदानमा उत्रिएका छन्।
दाङमा प्रदेश नम्बर ५ अन्तरगतका १२ जिल्लाका प्रदेशसभा र स्थानीय तहका निर्वाचित पदाधिकारीहरूमध्ये अधिकांश मतदानका लागि दाङ आइसकेका छन्। तर नजिक घर भएका केही भने आज बेलुका र भोलि बिहानसम्म आइपुग्ने तयारीमा रहेका छन् ।
मतदान अधिकृत रावलले मतदानस्थल, मतगणना स्थलको छनोट, मतपत्रहरू आइसकेको, सुरक्षा व्यवस्था लगायत सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। दुईवटै मतदान केन्द्रहरूमा मतदान अधिकृतसमेत तोकिसकेको उनले बताए।
प्रदेश सांसदहरूले मतदान गर्ने केन्द्रको अधिकृतमा सरकारी वकिल चन्द्रबहादुर सिञ्जाली र स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहेको केन्द्रमा जिल्ला शिक्षा कार्यालयका उपसचिव विनोद गौतमलाई खटाइएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए ।
मतदानमा सहभागी हुने र अन्य अतिथिहरूलाई स्वागत तथा व्यवस्थित बसाईका लागि सबै क्षेत्रबाट भूमिका निभाउने समेत निर्णय भएको जानकरी दिइएको छ। सुरक्षा, सरसफाई, होटलको व्यवस्थापनमा विशेष ध्यान दिने गरि संमन्वयकारी भूमिकाहरू निभाउने विषयमा जिल्लामा सोमबार नै छलफल भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा क्रियाशील राजनीतिक दल तथा अन्य सरोकारवाला निकायहरुसँग गरेको छलफलमा त्यस्तो जानकारी दिइएको थियो।
मतदातालाई स्वागत गर्न गेट निर्माणयसैबीच घोराही उपमहानगरपालिकाले भोलिको राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ५ को घोराहीमा आएका मतदाताहरूलाई यहाँका पर्यटकीय स्थलहरू भ्रमण गराउने भएको छ । मेयर नरुलाल चौधरीले घोराही उपमहानगरले घोराहीमा आउने सबै मतदातालाई अतिथिको रूपमा स्वागत गर्दै भोजनको व्यवस्था गर्ने र यसक्षेत्रका पर्यटकीय सम्पदाको अवलोकन गराउने निर्णय गरिएको बताए। उनले विभिन्न १२ जिल्लाबाट मतदानका लागि दाङ आएका सबैलाई अथितिको रूपमा गर्न स्वागत गेट निर्माण गर्न लागिएको मेयर चौधरीले सेतोपाटीलार्य बताए।
त्यसपूर्व नगर क्षेत्रको सरसफाई गरी मतदान स्थललाई व्यवस्थित बनाउने गरी कामहरू सुरू भएको चौधरीले जानकारी दिए। ‘प्रदेशबाट आउने प्रदेश सांसद र स्थानीय तहका प्रमुख,उपप्रमुख एवं अतिथिहरूलाई स्वागत सम्मानका लागि गेट निर्माण, नगरका पर्यटकीय क्षेत्रहरूको भ्रमण र चुनावका दिन बिहानको भोजनको व्यवस्था गरिएको छ,’ मेयर चौधरीले भने।
उनले ऐतिहासिक अवसरमा आउने मतदातालाई घोराही नगरले अतिथिको रूपमा स्वागत गर्न लागेको बताए ।