प्रदेश नम्बर ४ को प्रदेशसभाको पहिलो बैठकमा सांसदहरूले प्रदेशलाई समृद्ध बनाउने बताएका छन्। उनीहरूले प्रदेश ४ को पर्यटन, जलस्रोत, कृषि, खेल, उद्योगधन्दा लगायत प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग गरेर नमूना प्रदेश बनाउने बताए।
चीन र भारत दुवैतिर छुने प्रदेश भएकाले दुवैबाट लाभ लिएर आर्थिक विकास गर्दै प्रदेशलाई समृद्धिको बाटोमा लैजाने उनीहरूको भनाइ छ । प्रदेश ४ को राजधानी पोखरालाई पर्यटकीय, शैक्षिक, खेलकुद, स्वास्थ्य, सांस्कृतिक लगायत क्षेत्रको हबका रुपमा विकास गर्ने एमालेका नेता पृथ्वीसुब्वा गुरुङले बताए।
प्रदेशसभाको बैठकमा आउने धेरैजसो सदस्य औपचारिक पोशाकमा देखिन्थे। रातो कार्पेटकै झल्को दिने किसिमले बिच्छाइएको रातो डोरमेट प्रयोग गरेर चिटिक्क सजाइएको नदीपुरस्थितस्थित प्रदेशसभाको बैठकमा औपचारिक पोशाकका साथ प्रदेशसभा सदस्य प्रवेश गरेको दृश्य निकै आकर्षक देखिएको थियो। सभामा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले समुन्नत र समृद्ध प्रदेश बनाउन आफूहरू सहयोगी हुने बताए।
त्यसै गरि एकीकृत नेकपा माओवादीका सांसद हरि बहादुर चुमनले चार नम्बर प्रदेशको विकासका लागि आफू र आफ्नो पार्टी लागि पर्ने बताए। राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले संघीयतालाई हीराको सिक्रीले बाँधेको भालुको संज्ञा दिए। संघीयताप्रति आफ्नो पार्टीको असहमति रहेको उनले प्रष्टोक्ति थियो।
बैठकमा एमालेका पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र सिर्जना शर्मा, नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली, दोबाटे विश्वकर्मा र ललितकला गुरुङ, माओवादी केन्द्रबाट हरिबहादुर चुमान, नेत्रनाथ अधिकारी र गायत्री गुरुङ, राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र नयाँ शक्तिका हरिशरण आचार्यले प्रदेश ४ को विकास र समृद्धिका सम्भावनाबारे चर्चा गरेका थिए।
सोमबार भएको प्रदेशसभाको पहिलो बैठकले आगामी फागुन ३ गते दिउँसो १ बजे प्रदेशसभाको सभामुखको निर्वाचन गर्ने निर्णय गरेको छ। वाम गठबन्धनको निर्णयअनुसार प्रदेश नम्बर ४ मा मुख्यमन्त्री नेकपा एमाले र सभामुख नेकपा माओवादी केन्द्रले लिने सहमति बनेको छ। प्रदेश नम्बर ४ मा उपसभामुखको निर्वाचन फागुन ६ गते गर्ने तयारी छ।
सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन अन्तरिम कार्यविधि पारित गरेको छ। पोखरा लेखनाथ महानगरपालिकास्थित नगर विकास प्रशिक्षण केन्द्रमा बसेको प्रदेशसभा बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभा सञ्चालनका लागि गायत्री गुरुङ, मनकुमारी गुरुङ , देकबहादुर घर्ती, धनमाया पोखरेल लामा र मित्रकुमारी गुरुङ सुवेदी रहेको अध्यक्ष मण्डल समेत चयन गरेको छ।
बिहान ११.०२ बजे जनाउ घण्टी बज्नु अगावै प्रदेशसभा सदस्य बैठकस्थल प्रवेश गरिसकेका थिए। यो प्रदेशमा कास्की, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत , नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ र मनाङ गरी ११ वटा जिल्ला छन् ।
प्रदेश नम्बर ४ मा प्रत्यक्ष र समानुपातिक गरी ६० प्रदेश सभा सदस्य छन् । जस मध्ये ५९ जना उपस्थित भएका थिए । प्रदेश नं ४ मा प्रमुख दल नेकपा (एमाले)का २७, नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्तिका दुई र स्वतन्त्र एकजना छन्। बैठकको दृश्य र तस्बिर खिच्न जान बन्चित गरेपछि विद्युतीय सञ्चारमाध्यमले क्यामरा लगायतका सामग्री प्रदर्शन गरेका थिए ।