प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज हुँदैछ। प्रदेशसभाको लागि सजावट पूरा भएको छ । पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलमा कार्पेट, टेबल, रंग रोगन, टेवल माइक सबै जडान भएका छन्। बैठकमा भाग लिन सबै प्रदेश सासंदहरु पोखरा आइपुगेका छन्।
दलको बैठकले आज हुने बैठक सवा घण्टा चल्ने तय गरेका छन्। बैठकले प्रदेशसभा सञ्चालन कार्यविधि २०७४ पारित गर्ने निर्णय समेत गरेको प्रदेशसभाका सहसचिव जीवराज बुढाथोकीले सेतोपाटीलाई जानकारी दिए।
उनले बैठकमा ३ ठूला दलका ३/३ जना र साना २ दलबाट १/१ जना गरी ११ जनाले बोल्ने ब्यवस्था मिलाईएको बताए। सभामुख र उपभामुखको निर्वाचन फागुन ३ र ६ गते हुने सहमति भएको दलका नेताले बताएका छन्।
बैठकका लागि आइतबार रियल्सलसमेत भएको थियो। बैठकमा एमालेबाट पृथ्वीसुब्बा गुरूङ र किरण गुरूङ थिए भने कांग्रेसबाट कृष्णचन्द्र नेपाली र विन्दुकुमार थापा तथा माओवादीका हरि चुमान र नेत्रनाथ अधिकारी सहभागी थिए। यस्तै जनमोर्चाले कृष्ण थापा र नयाँ शक्ति पार्टी नेपालले हरिशरण आचार्यलाई सहभागी गराएको थियो।
प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति गरी ५ दलको प्रतिनिधित्व छ।
प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, नयाँ शक्तिका २ र स्वतन्त्र १ गरी कुल ६० सदस्य छन्। प्रदेशसभामा सहभागी हुने सांसदहरुको लागि दलहरुले छुट्टाछुट्टै होटलमा व्यवस्था गरेका छन्।
प्रदेशसभा बैठकस्थलमा नेपाल प्रहरीका निरीक्षकको नेतृत्वमा ५५ जना मर्यादापालक खटिनेछन्। सभास्थल बाहिर २५ जना सुरक्षाकर्मी खटिने टोलीले जनाएको छ। सभाहलमा दर्शकदीर्घामा बस्ने दर्शक, आमन्त्रित व्यक्तित्व, प्रदेश सरकारका कर्मचारी र पत्रकार बस्ने गरी व्यवस्थापन भएको छ । संसद् सचिवालयमा मिडिया सेन्टर स्थापना गरिएको छ ।
पहिलो बैठकका ५ कार्यसूची१. प्रदेश ४ को पहिलो बैठकले संसदीय परम्पराअनुसार सुरुमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
२. प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ लाई संसद्समक्ष प्रस्ताव गर्ने र छलफल गरी पारित गरिनेछ ।
३. प्रदेश सभाको ऐतिहासिक पहिलो अधिवेशन प्रारम्भका अवसरमा दलका प्रतिनिधिलाई मन्तव्यको समय दिइनेछ ।
४. चौथो कार्यसूचीमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूची रहेको छ । प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ अनुसार सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम छ । सभामुखको अनुपस्थितिमा संसद् सञ्चालनका लागि संसद्मा सहभागी ५ दलका १–१ जना प्रतिनिधि रहने गरी अध्यक्षमण्डल गठन गर्ने तयारी छ ।
५. प्रदेश सभाको सभामुखको निर्वाचनका लागि दिन तोकिनेछ । प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ को दफा ६ को उपदफा १ अनुसार सभामुखको निर्वाचनको मिति तोकिनेछ ।