प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक सकिएको छ।
बुटवल उद्योग वाणिज्य संघको सभाहलमा बसेको बैठकले फागुन २ गते सभामुखको निर्वाचन हुने निर्णय गरेको छ। बैठकले सभामुख र उपसभामुख नहुँदा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक, सञ्तोष पाण्डे संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका छन् ।
बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ।
प्रदेशसभाको पहिलो बैठकलाई ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गरेका थिए। प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ ।
प्रदेश ५ मा ८७ जना सांसद छन्।
विकास र समृद्धि अबको साझा मुद्दाऐतिहासिक सभालाई सम्वोधन गर्ने राजनीतिक दलका प्रतिनिधिहरूले पाँच नम्वर प्रदेशलाई विकास र समृद्धिको नमूना प्रदेश बनाउन साझा एजेण्डा बन्नुपर्नेमा जोड दिएका छन्। सम्बोधनका क्रममा उनीहरूले प्रदेशलाई समृद्ध बनाउनका लागि सबैको साथ आवश्यक रहेको बताए। उनीहरूले अब प्रदेश समृद्ध बनाउने यात्रा सुरू भएको भन्दै त्यसतर्फ लाग्ने प्रतिबद्धता जनाएका छन्।
नेकपा एमालेका संसदीय दलका नेता शंकर पोख्रेलले पाँच नम्वर प्रदेशलाई मिनि नेपालको रुपमा विकास गरिने बताए। ‘पाँच नम्वर प्रदेशमा विकास र समृद्धिका बलिया आधारहरू छन्। यो प्रदेशलाई ऐतिहासिक प्रदेश बनाउन सक्छौं। अधिकारको लडाई सकिएको छ। अब समृद्धिको लडाई सुरू गर्नुपर्छ।’
त्यसैगरी, नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले चुनौतीहरू चिर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । साथै, उनले पाँच नम्वरलाई मोडेल प्रदेशको रूपमा विकास गर्न सकिने प्रशस्त आधारहरू रहेको विवरणहरु प्रस्तुत गरे।
नेपाली काङग्रेसका नेता वीरबहादुर राणाले सामाजिक न्याय विना समानता सम्भव नभएको भन्दै समता मुलक समाज निर्माण गर्ने अभियानमा सहमति, सहकार्य र एकताको माध्यमवाट अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
संघीय समाजवादी फोरम नेपालका नेता सहस्रराम यादवले प्रदेश नम्वर पाँचलाई समृद्ध प्रदेश बनाउन प्राकृतिक स्रोत साधनको उपयोगबाट बनाउन सकिने बताए। त्यस्तै, राष्ट्रिय जनमोर्चाकी नेता तारा जिसीले यो प्रदेशलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न सकिने बताए।