देशका चारवटा प्रदेशमा पहिलो प्रदेश सभा बैठक सुरू भएको छ।
प्रदेश नम्बर २ को जनकपुरमा, प्रदेश ५ को बुटवलमा, प्रदेश ६ को सुर्खेतमा र प्रदेश ७ को धनगढीमा प्रदेश सभा बैठक बसेको हो।
प्रदेश २ को पहिलो बैठक जनकपुरमा बस्न लागेको दिन वीरगञ्जमा भने बन्दको आह्वान गरिएको छ।
बिहानैदेखि वीरगञ्जका मूल सडकका पसल र लामो दुरीका सवारी साधन बन्द छन्।
त्यसैगरी, प्रदेश नम्बर २ को प्रदेश सभा बैठक सुरू हुनु अगावै बैठक केही समयका लागि अवरुद्ध भएको छ।
मधेशी दलका नेताहरूले बैठक कक्षमा जनआन्दोलनका शहीदका तस्बिर राखिएको र मधेश आन्दोलनका शहीदहरूको तस्बिर नराखिएकोले बैठक केही बेर अवरूद्ध गरेका थिए।
प्रदेश सभाका पहिलो बैठकले प्रदेश सभा सञ्चालनको अन्तरिम कार्यविधि पारित गर्ने र सभामुखको चुनाव मिति तोक्ने कार्यसूची छ।
सभामुख नचुनिएसम्म प्रदेश सभाका सबैभन्दा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने छन्।
प्रदेश ३ को पहिलो बैठक माघ १८ गते हेटौंडामा भएको थियो। प्रदेश १ र ४ को बैठक क्रमशः विराटनगर र पोखरामा सोमबारका लागि बोलाइएको छ।