माघ २१ गतेका लागि डाकिएको प्रदेश नं ५ को पहिलो प्रदेशसभा बैठकको तयारी तीव्र पारिएको छ।
बैठकको तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। प्रदेशसभा सञ्चालनका लागि गठित सहजीकरण टोलीका प्रमुख सुरेन्द्र अर्यालले पहिलो बैठकको तयारी व्यापक रूपमा तीव्रताका साथ भइरहेको सेतोपाटीलाई बताए। प्रदेशसभाका सदस्यहरूले सपथ खाएको स्थान बुटवल उद्योग वाणिज्य संघको सभाहलमा आइतबार बिहान ११ बजे बैठक आह्वान गरिएको छ।
संघीय संसद सचिवालयका सहसचिव समेत रहेका अर्यालले भौतिक संरचना नभएको स्थानमा बैठक सञ्चालन योग्य बनाउनका लागि भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको बताए। उद्योग वाणिज्य संघको भवनलाई प्रदेशसभा बैठक बस्ने भवनको रूपमा रुपान्तरण गर्न केहि जटिलता रहेपनि बैठकको तयारी तीव्ररुपमा भइरहेको उनले बताए।
संसदीय प्रक्रियालाई चाहिने भौतिक संरचनाहरू जस्तै हाजिरी कक्ष, प्रदेशसभा सदस्यलाई कार्यसूची वितरण कक्ष, स्वास्थ्य ईकाइ, मिडिया सेन्टर, रेकर्डिङको व्यवस्था, प्रत्यक्ष प्रशारणको व्यवस्था, साउन्ड सिस्टम, कन्ट्रोल रुम, पत्रकार दिर्घा, दर्शक दिर्घा र कर्मचारी दिर्घा निर्माणको काम अन्तिम चरणमा पुगेको बताए।
‘भित्रपट्टी सभाहलमा सभामुखको आसनको व्यवस्था, प्रदेशसभा सचिवको आसन, प्रदेशसभा सदस्यहरूका लागि कुर्सीको व्यवस्थापन जस्ता कामहरू धमाधम भइरहेको छ,’ अर्यालले सेतोपाटीलाई भने।
शुक्रबार बिहान मिडियासँग प्रत्यक्ष प्रशारणको व्यवस्था कसरी मिलाउने, पत्रकारलाई बैठक कक्षमा प्रवेश गर्नका लागि पासको व्यवस्थापन कसरी गर्ने भन्ने सवालमा छलफल भएको अर्यालले बताए। त्यस्तै, उनले सकभर शुक्रबार बेलुकासम्म सर्वदलीय बैठक बस्ने यदि त्यो संभव नभए शनिबार बिहानै बैठक बस्ने त्यसमा प्रदेश नं. ५ को पहिलो प्रदेशसभा बैठकलाई कसरी सभ्य र भव्य बनाउने भन्ने छलफल गरि कार्यसूची तय गर्ने अर्यालले बताए।
पहिलो बैठक औपचारिकतामै सिमित हुने संभावनाप्रदेश नं ५ को पहिलो प्रदेशसभा बैठकलाई ऐतिहासिक बनाउने तयारी भएपनि त्यो बैठक भने औपचारिकता मात्रै सिमित हुने संभावना रहेको छ।
प्रदेश नं. ५ मा प्रदेशसभा सदस्यमध्ये जेष्ठ मानिएका बलदेव शर्मा पोखरेलले पहिलो बैठकमा सभामुखको भूमिका निर्वाह गर्ने गरि तयारी भइरहेको स्रोतले बताएको छ। पहिलो बैठक भएको हुँदा यो औपचारिकतामै सिमित हुने देखिएको छ।
प्रदेशसभा सदस्य तथा श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो बैठकले सभामुख र उपसभामुख चयनको लागि मिति घोषणा गर्न सक्ने भएपनि स्थायी राजधानी तोक्ने जस्ता महत्वपूर्ण निर्णयहरू गर्न नसक्ने बताए।
आपसमा शुभकामना आदान प्रदान, प्रदेशसभा सदस्यहरूको मन्तव्य लगाएतका औपचारिकतामा पहिलो बैठक समापन हुने उनले बताए। अर्का प्रदेशसभा सदस्य उत्तरकुमार वलीले भने नेपाली कांग्रेसको पनि सहमति भएमा पहिलो बैठकले नै मुख्यमन्त्री समेत चयन गर्न सक्ने बताए ।
तर, त्यो संभावना न्यून रहेको बताएका नेकपा एमालेका नेता समेत रहेका वलीले सभामुख र उपसभामुखको निर्वाचनको मिति भने पहिलो बैठकले नै तोक्ने बताए। ‘राजधानी स्थायी तोक्ने सवालले ४औं वा ५औं बैठकपछि मात्रै प्रवेश पाउन सक्छ,’– वलीले सेतोपाटीलाई भने ‘दोस्रो बैठकपछि मात्रै मन्त्रीहरूको खाका आउँछ र तेस्रो बैठकसम्म मन्त्रीहरूले सपथ खाइसकेका हुनेछन्।’
उनले प्रदेश राजधानी स्थायी रूपमा तोक्नका लागि भने तीन महिनासम्म लाग्ने आंकलन गरे। त्यस्तै, अर्का प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका इन्द्रजित थारुले पनि पनि त्यस्तै अनुमान लगाए।
दाङ स्थायी घर भएका थारुले भने ‘दाङको पक्षमा दुई तिहाइ पुग्ने अवस्था नहुँदासम्म स्थायी राजधानीको लविङ अगाडि बढाउनुको कुनै तुक रहँदैन।’ उनले पहिलो बैठकमा त्यो विषयले प्रवेश पाउँदा विवादै विवाद सुरू हुने र अन्य विकास निर्माणका कामहरू अगाडि बढाउन चुनौती हुने अनुमान लगाए।
दाङलाई प्रदेश राजधानी बनाउनका लागि राजनीतिक सहमतिको समेत प्रयास गरिने बताएका थारुले दाङका पक्षधरहरूले बहुमत नपुग्दासम्म स्थायी राजधानीको सवाल नउठाउने बताए। ‘प्रदेश नं. ५ को मुख्यमन्त्री दाङकै शंकर पोखरेल हुने निश्चित भइसकेको छ र आशा गरौं दाङ नै स्थायी राजधानी बनाउन उहाँ लगायतका नेताहरूले लविङ थाल्नु हुनेछ,’ थारुले सेतोपाटीलाई भने।
प्रदेश नं. ५ मा कुल ८७ सभासदस्य रहेको छन्। त्यसमध्ये नेकपा एमालेका ४१ (२८ निर्वाचित र १३ समानुपातिक) नेकपा माओवादी केन्द्रका २० (१४ निर्वाचित र ६ जना समानुपातिक) र नेपाली कांग्रेस १९ ( ७ निर्वाचित र १३ समानुपातिक) प्रदेशसभा सदस्य रहेका छन्। प्रमुख तीन ठूला दलका ८० सभासदस्य रहेको छ। कुल छ वटा दलहरूले प्रदेश नं. ५ मा प्रतिनिधित्व गरेको भएपनि थप तीन वटा साना दलहरूको अंक भार भने जम्मा ७ मात्रै रहेको छ ।