माघ २१ गते बस्ने दुई नम्बर प्रदेशको प्रदेश सभाको बैठकको आवश्यक तयारी तीव्र गतिमा सुरू भएको छ।
जनकपुरको जिल्ला शिक्षा कार्यालय हाताभित्र रहेको शैक्षिक तालिम केन्द्रमा पहिलो बैठक बस्ने गरि तयारी गरिएकोे हो।
प्रदेशसभाको अधिवेशनको कार्यसूची तय गर्नका लागि समेत तयारी भइरहेको छ। प्रदेश सभाका लागि तालिम केन्द्रको भुइँतलामा सभाहल निर्माण भइरहेको छ। त्यसका लागि आवश्यक फर्निचर निर्माण, खरीद तथा भवनका सबै कोठामा धमाधम सरसफाइ भइरहेको छ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय जनकपुरले १९ माघमा सो भवन प्रदेश सभा सचिवालयलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ। डिभिजन कार्यालय जनकपुरका प्रमुख गंगाप्रसाद यादवका अनुसार प्रदेश सभाका लागि तालिम केन्द्रको सभाहलमा मर्मत सम्भार, रङरोगन, फर्निचर, लाइट लगायत कार्य भइरहेको छ।
शैक्षिक तालिम केन्द्रमा करिब ६० जना मजदूर दिनरात खटिएका छन्। प्रदेश व्यवस्थापिका र कार्यपालिकाका लागि छनोट गरिएको भवनहरूको मर्मतसम्भार, फर्निचर, लाइट तथा रङरोगनको लागि डिभिजन कार्यालयले ५५ करोड रुपैयाँ मागेको थियो। सरकारले पहिलो चरणमा ७ करोड ५० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ। सरकारले थोरै बजेट पठाएकाले तत्काल त्यही रकमबाट आवश्यक कार्य गरिएको सहरी विकास भवन कार्यालयका प्रमुख यादवले जानकारी दिए।
जिल्ला सुरक्षा समितिले प्रदेशसभाका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २१ जना मर्यादापालक खटाउने निर्णय गरेको छ।