प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा बैठक बिहिबार बसेको छ ।
हेटौंडाको क्षेत्रीय शिक्षा निर्देशनालयमा रहेको भवनमा बसेको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य डोरमणि पौडेलले गरेका हुन्।
प्रदेशसभाको पहिलो बैठक भएकाले बिहिबारको बैठकमा ३ नम्बर प्रदेशमा प्रतिनिधित्व गरेका दलका तर्फबाट सांसदहरूले शुभकामना मन्तव्य दिएका छन् ।
नेकपा एमालेकी प्रदेशसभा सदस्य अष्टलक्षी शाक्यले संघीय संरचना अनुसार सबै प्रदेशले राम्रोसंग काम गर्न सके स्थानीय तहलाई बलियो हुने बताइन्। नया संरचनामा प्रवेश गर्दै गर्दा आईपर्ने अनेकौ चुनौतीलाई आत्मसाथ गर्दै राजनीतिक स्थितरता कायम गर्नतर्फ अग्रसर हुनुपर्नेमा उनँले जोड दिइन्। उनले लोकतान्त्रिक संस्कार र संस्कृतिको विकास गर्दै सहमति र सहकार्यको राजनिति गरेर प्रदेशलाई सम्बृद्धिको बाटोमा लैजानुपर्ने उल्लेख गरिन्।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य शालिकराम जमरकट्टलेले लोकतन्त्रलाई संस्थागत गर्नका लागि दलहरू एक ठाउँमा आउनुको विकल्प नभएको बताए। उनँले ३ नम्बर प्रदेशलाई नमुना प्रदेश र नेतृत्वदायी प्रदेशको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य इन्द्र बहादुर बानियाले सहमति, सहकार्य र एकतालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।उनले अल्पमतको आवाजलाई पनि सुन्दै मुलुकलाई शब्दमा मात्रै नभई व्यवहारिक रुपमा नै सम्वृद्धिको बाटोमा अग्रसर गराउनुपर्ने उल्लेख गरे। मकवानपुरबाट प्रदेशसभामा निर्वाचित उनले तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौडा तोक्ने सरकारको निर्णयको प्रशंसा गरे।
यसैगरी विवेकशील साझा पार्टीका रमेश पौड्यालले सहभागितामुलक लोकतन्त्रलाई व्यवहारमा परिणत गर्नुपर्ने बताए। व्यवहारिक रूपमा लोकतन्त्र स्थापना हुन नसके प्राप्त उपलब्धी पनि गुम्न सक्ने भन्दै उनले प्रणाली, पारदर्शीता र इमान्दारीताको राजनीति स्थापना गरि राजनीति प्रतिको घृणालाई बदल्नुपर्ने तर्क गरे।
[caption id="attachment_128797" align="alignnone" width="3600"]
प्रदेश नं ३ को पहिलो प्रदेशसभाको बैठकमा सहभागीहरू। तस्वीर : रासस[/caption]
नेपाल मजदूर किसान पार्टीका सांसद सुरेन्द्र गोसाईले देशको सार्वभौमिकता स्वतन्त्रता रक्षाका लागि एकजुट हुनुपर्नेमा जोड दिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिककी सांसद रिना गुरुङले प्रदेश नम्बर तीनलाई सम्वृद्ध र विकसित प्रदेशको रुपमा विकास गर्नुपर्ने उल्लेख गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रीता माझिले जनताले महसुस गर्ने गरि सबै दलहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिइन्।
स्वतन्त्र सांसद प्रेम बहादुर तामाङले संघियताको विउ नरोप्दै निमोठ्न खोज्ने शक्ति अझै पनि सक्रिय रहेको भन्दै संघीयताको गरिमालाई उच्च राख्दै अघि बढ्नुपर्नै उल्लेख गरे। टहरामा बसिरहेका भूकम्प पीडितहरू आफ्नो समस्या समाधान होस् भनी हेटौंडालाई नियालि रहेको भन्दै छिट्टै उनीहरूको हितमा निर्णय गर्नुपर्नेमा सभाको ध्यानाकर्षण गराए। प्रतिनिधित्व गरेका दलका तर्फबाट प्रदेशसभा सदस्यको शुभकामना मन्तव्य सकिएपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो ।
१ सय १० सांसद रहेको ३ नम्बर प्रदेशमा ८ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको छ । नेकपा एमालेका ५८,माओवादी केन्द्रको २३, कांग्रेसको २१ र विवेकशील साझा पार्टीको ३, नेपाल मजदुर किसान पार्टीको २ र राप्रपा, राप्रपा प्रजातान्त्रिक र स्वतन्त्रबाट एक एक सिट रहेको छ । बिहिबार पहिलो बैठकमा एक जना सांसद अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।