नेपाली सेनाको स्वामित्वमा रहेको महांकालस्थित त्रि–चन्द्र मिलिट्री अस्पताल भवन परिसरमा निर्माणाधिन भवन सम्बन्धमा विभिन्न मिडियाहरुमा प्रकाशित समाचार टिप्पणीहरु प्रति नेपाली सेनाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सेनाले विज्ञप्ति जारी गर्दै प्रारम्भमा ‘जि प्लस चौध’ तल्लाको भवन निर्माण गर्ने योजना गरिएकोमा भूकम्पीय जोखिम न्यूनिकरण तथा सुरक्षा संवेदनशीलतालाई समेत दृष्टिगत गरी प्राविधिकहरुबाट डिजाईनमा पुनरावलोकन गर्दै ‘जि प्लस सात’ तल्ले भवन निर्माणको अन्तिम चरणमा रहेको तथा नक्सा र डिजाईन बारे सम्बन्धित निकायसँग समन्वय भईरहेको स्पष्ट पारेको छ ।
कल्याणकारी कार्यहरुको निरन्तरताको लागि निर्माणाधिन भवनको केही भाग आयमूलक कार्यमा उपयोग गर्न लागिएको सेनाको दावी छ ।
त्रि–चन्द्र मिलिट्री अस्पतालले चर्चेको भाग अस्पतालको ऐतिहासिक मर्म र अस्तित्व कायम रहने गरी निर्माण सम्पन्न भए पश्चात सैनिक कल्याणकारी योजनाका हिताधिकारीहरुको स्वास्थ्योपचार कार्य मै प्रयोग गरिने सेनाको भनाई छ।
बहालवाला तथा अवकाशप्राप्त सैनिक र आश्रित परिवारको लागि सञ्चालित छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको बेड संख्या ४९३ लाई बढाई ६३५ पुर्याईएको र सोही हाताभित्र थप सुविधा सहित अत्याधुनिक परिवार वहिरंग भवन (फेमेली ओपिडि विल्डिङ) संचालनमा आईसकेको भन्दै सेनाले दुई स्थानमा अस्पताल संचालन हुँदा आर्थिक भार बढ्न जाने तर्क गरेको छ ।
‘निर्माणाधिन भवनको केही भाग प्रतिस्पर्धात्मक रुपमा आयमूलक कार्यको लागि प्रयोग गरी प्राप्त आम्दानीको सदुपयोग गर्दै औषधोपचार सेवा सुविधालाई क्रमश विकेन्द्रिकरण गर्दै लैजाने सेनाको योजना छ।’
विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश नं. ५ को नेपालगञ्जमा, प्रदेश नं. ४ को पोखरा र प्रदेश नं. १ को इटहरीमा क्षेत्रिय सैनिक अस्पताल निर्माण कार्य भईरहेको र प्रदेश नं. २ र ७ मा समेत सेवा विस्तार गर्ने योजना रहेको छ।’