उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा प्रक्रिया तत्काल अगाडि बढाइने बताएका छन्।
उर्जा मन्त्रालयमा बुधबार भएको सरोकारवाला निकाय र स्थानीयबासी बीचको छलफलमा उपप्रधानमन्त्री थापाले सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा प्रक्रिया तत्काल अगाडि बढाइने बताएका हुन्।
बैठकमा मुआब्जा सम्बन्धी विविध विषयमा स्थानीय र त्यस क्षेत्रका सांसदले आवाज उठाएपछि मन्त्री थापाले मुआब्जा वितरणमा देखिएका समस्या र जिल्लाबाट मुआब्जा निर्धारण समितिले सिफारिस गरेका उचित विषयलाई मन्त्रिपरिषदमा लैजाने प्रतिवद्धता जनाए।
पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय महत्वको आयोजना भएकाले परिर्वतित सन्दर्भमा मुआब्जा लगाएत पुर्नस्थापनामा देखिएको समस्या अध्ययन गरि चाडो टुंगो लगाउनुपर्ने बताए।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिंसिङले कम्पनी मोडलमा लगेर काम गर्नुपर्नेमा जोड दिए।
बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले कर्मचारी तन्त्र र राजनीतिक नेताहरु सचेत र गम्भीर नबनेसम्म मुलुकमा राष्ट्रिय गौरवका कुनै पनि आयोजना नबन्ने भन्दै आक्रोश पोखे।
छलफलमा आयोजना वरपरका स्थानीयले मुआब्जा, पुर्नमुल्यांकन, शहरी क्षेत्रको वर्गिकरण, मुआब्जा वितरणमा प्रयाप्त रकम उपलब्ध नभएको तथा कसले उपलब्ध गराउने लगायत विषयमा अन्यौल र ढिलाई भएको भन्दै आक्रोश पोखेका थिए ।