जनकपुरस्थित जिल्ला शिक्षा कार्यालय, धनुषाको प्राङ्गणभित्र रहेको शैक्षिक तालिम केन्द्रमा प्रदेश नं २ को प्रदेश सभाको पहिलो बैठक यही माघ २१ गते बस्ने भएकाले तीव्र गतिमा त्यसको तयारी भइरहेको छ।
यही माघ २१ गते बिहान ११ बजे बस्न लागेको उक्त बैठकका लागि सभाहलभित्र फर्निचर तथा सजावटको काम जारी छ। गत माघ ७ गते प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभा सदस्यलाई जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभागृहमा शपथ ग्रहण गराएका थिए। बैठक भवन वरिपरिका भवनलाई नयाँ रूप दिन कामदार निकै व्यस्त देखिन्छन्। प्रदेश सभाको बैठकका लागि तालिम केन्द्रलाई तीव्रताका साथ बेहुलीलाई झैँ श्रृङ्गार गरिँदैछ।
प्रायः शिक्षासम्बन्धी कुनै तालिम, गोष्ठी वा कार्यक्रम हुँदा मात्रै चहलपहल हुने उक्त स्थानमा अहिले कामको चापको कारण कामदार बिहानैदेखि व्यस्त देखिन्छन्। जनकपुर उपमहानगरपालिकाको कुवारामपुरस्थित शैक्षिक तालिम केन्द्रको रूप नै परिवर्तन गरिँदैछ। भवनहरू रंगरोगन गर्ने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार र सरसफाइका कारण रूप पहिलेको भन्दा फरक देखिएको हो।
बैठकका लागि भवन रंगाउने काम, आवश्यक फर्निचर व्यवस्थापन, मर्मतसम्भार, सरसफाइको तदारुकताका साथ भइरहेको छ। सहरी तथा भवन निर्माण डिभिजन कार्यालय जनकपुरका अनुसार प्रदेश सभा बैठकका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ। शैक्षिक तालिम केन्द्रभित्र सभाकक्षको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन कार्य भइरहेको छ।
डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभा प्रमुख, मुख्यमन्त्रीको आवास, प्रदेशसभा बैठक कक्ष सहितको व्यवस्थापन कार्य भइरहेको बताए। साथै, जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को कभर्ड हललाई स्थायीरूपमा प्रदेश सभा भवनका रूपमा प्रयोग गर्ने सरकारको तयारी छ। जचुकालीको भवन जीर्ण रहेको र मर्मतसम्भार गर्न केही समय लाग्ने भएकाले तत्कालका लागि शैक्षिक तालिम केन्द्रलाई उपयोगमा ल्याउन लागिएको धनुषाका प्रजिअ दीलीप चापागाईंले बताए।
उद्योग मन्त्रालय मातहत रहेको जचुकालीको निवास क्षेत्रतर्फ करीब २० बिगाहा जग्गा तथा त्यसमा रहेका करीब डेढ दर्जन भवन विमलेन्द्र निधि गृहमन्त्री छँदा गृहको स्वामित्वमा ल्याइएको थियो। प्रदेशसभा भवन, प्रदेश प्रमुख, सभामुख तथा मुख्यमन्त्रीको कार्यालय तथा निवास र सातवटै मन्त्रालय जचुकालीभित्रै राख्न सकिने भौतिक संरचना छ। सामान्य मर्मतसम्भार गरी उक्त संरचना प्रयोगमा ल्याउन सकिने सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताए।
हाल सबै व्यवस्था शैक्षिक तालिम केन्द्रमा गर्न लागिएको छ। प्रदेशको अस्थायी मुकाम तोक्नुअघि सरकारले गठन गरेको प्रादेशिक राजधानीका लागि भौतिक संरचनाको अध्ययन तथा सिफारिश समितिले जनकपुरको शैक्षिक तालिम केन्द्र तथा सोही स्थानमा रहेको जिल्ला शिक्षा कार्यालयको संरचनालाई प्रदेशसभा एवं प्रदेश सरकारको कार्यालयका रूपमा उपयोग गर्न सिफारिश गरेको थियो। तालिम केन्द्रमा प्रदेश सभाको बैठक कक्ष र शिक्षा कार्यालयमा मुख्यमन्त्रीको कार्यालय राख्ने तयारी गरिँदैछ।
प्रदेशमा सातवटा मन्त्रालय कायम गरिने सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी अगाडि बढाइएको समितिको सदस्यसचिवसमेत रहेका भवन डिभिजन प्रमुख यादवले बताए। उनका अनुसार तालिम केन्द्र सञ्चालन रहेको भवनमा दुईवटा मन्त्रालय, तालिम केन्द्रकै पुरुष शिक्षक (प्रशिक्षार्थी) आवासमा तीन मन्त्रालय र महिला शिक्षक आवासमा दुईवटा मन्त्रालय राख्ने तयारी गरिँदैछ। प्रदेशसभा कक्ष, प्रदेश सभाका सभामुखको कार्यालय तथा सभामुख निवास पनि सोही भवनमा व्यवस्थापन हुँदैछ।
मुख्यमन्त्रीको कार्यालय तथा मुख्यमन्त्री निवास भने शैक्षिक तालिम केन्द्रकै परिसरमा रहेको जिल्ला शिक्षा कार्यालय भवनमा व्यवस्थापन गरिने भएको छ। स्थानीय स्तरबाट भएको सिफारिश र हाल भइरहेको तयारीका आधारमा प्रदेश सरकारको मातहतमा रहने सबै मन्त्रालय, प्रदेश सभा भवन तथा मुख्य मन्त्रीको कार्यालय एउटै कम्पाउण्डभित्र रहनेछन्। प्रदेश प्रमुखको कार्यालय र निवास भने जचुकालीको निवास क्षेत्रमै व्यवस्थापन गरिसकिएको छ। प्रदेश प्रमुखको कार्यालय प्रदेश प्रहरी प्रमुखको कार्यालयअगाडि रहेको नेपाल राष्ट्रबैंकको अतिथि गृहमा राख्ने तयारी छ।
प्रदेश प्रमुखको निवास पनि सोही कार्यालयको परिसरमा व्यवस्थापन गर्न लागिएको प्रजिअ चापागाईंले बताए। आफ्नो भवनमा प्रादेशिक सरकार सञ्चालनमा आउने भएपछि शैक्षिक तालिम केन्द्रलाई ग्रामीण विकास तालिम केन्द्रमा सार्न लागिएको छ।
मुजेलियास्थित ग्रामीण विकास तालिम केन्द्र परिसरमा हाल सडक डिभिजनको कार्यालय, सशस्त्र प्रहरी सीमा सुरक्षा बलको कार्यालय र ग्रामीण विकास तालिम केन्द्र सञ्चालनमा छन्।