दुई नम्बर प्रदेशमा मिलेर चुनाव लडेका राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सरकार बनाउन भने अलमलमा परेका छन्।
चुनाव सकिएको २ महिना बितिसक्दा पनि मुख्यमन्त्री र मन्त्रालय बाँडफाँडका विषयमा दुई दलबीच औपचारिक छलफलसमेत भएको छैन। बरु दुबैले वाम गठबन्धनसँग भने छुट्टाछुट्टै छलफल गरिरहेका छन्।
आउँदो साता सबै प्रदेश सभाको पहिलो बैठक डाकिएको छ। तर प्रदेश दुई अहिलेसम्म मुख्यमन्त्री कुन दलको हुने टुंगो छैन।
वाम गठबन्धनले आफ्नो बहुमत रहेका ६ प्रदेशमा मुख्यमन्त्रीको भागबन्डा गरिसकेको छ।
नेताहरुले राजपा र फोरमका शीर्ष नेताहरू राजधानीमा नभएकाले छलफल नभएको दाबी गरेका छन्। तर दुई दलबीच छलफल हुन नसक्नुको कारण यति मात्रै होइन।
फोरम अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनका नेतासँग पनि कुराकानी गरिरहेकाले अहिले नै दुई पार्टीको सरकार बन्छ कि बन्दैन भन्न सक्ने अवस्था नरहेको राजपाका एक नेताले सेतोपाटीलाई बताए।
‘फोरम अध्यक्ष यादवले केन्द्रमा वाम गठबन्धनसँग मिल्ने र त्यही अनुसार प्रदेशमा पनि मिल्ने योजनालाई विकल्पमा राखेजस्तो देखिन्छ,’ ती नेताले भने,‘यदि यो अवस्था आयो भने राजपाले पनि वाम गठबन्धनसँग तालमेलको योजना बनाउँछ। त्यस्तो बेला वाम गठबन्धनको रोजाइमा राजपा नै पर्न सक्छ।’
केन्द्रीय सरकारमा राजपालाई सहभागी गराए भारतसँगको सम्बन्धसमेत सन्तुलनमा आउन सक्ने बुझाइ वाम गठबन्धनको रहेको ती नेताले दाबी गरे।
फोरमका अध्यक्ष यादवले भने दुई नम्बर प्रदेशमा सहकार्यका लागि आफूहरूको प्राथमिकतामा राजपा नै रहेको बताए।
‘हाम्रो पहिलो प्रथामिकता राजपा नै हो। केन्द्रमा हामीसँग सहकार्य गर्न वाम गठबन्धन तयार भयो भने हामी दुई नम्बर प्रदेशमा पनि उसलाई लिएर जान सक्छौं,’ उनले भने,‘वाम गठबन्धनसँग सहकार्यका लागि संविधान संशोधनमा उसको स्पष्ट धारणा आउनुपर्छ। यस्तो भएन भने हामीलाई अप्ठेरो पर्छ।’
दुई नम्बर प्रदेशको सरकार गठन लगायतका बिषयमा छलफल गर्न २० गते पार्टीको बैठक बोलाइएको यादवले जानकारी दिए।
राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतोले फोरमका नेताहरुसँग अनौपचारिक छलफल चलिरहेको बताए। राजपा–फोरम गठबन्धनले नै दुई नम्बर प्रदेशमा सरकार बनाउने उनले दाबी गरे।
‘मेरो हिजो मात्रै उपेन्द्रजीसँग कुराकानी भएको थियो। उहाँ विराटनगर भएकोले औपचारिक छलफल भएको छैन,’ महतोले भने,‘दुई नम्बर प्रदेशमा दुई पार्टीको सरकार बन्छ। अरु पार्टीको सहभागिताका लागि अहिलेसम्म कुनै छलफल भएको छैन। कसैले इच्छा पनि राखेको छैन र प्रस्ताव पनि गरेको छैन।’
केन्द्रको सरकार गठनमा पनि कुनै छलफल नभएको उनले बताए ।
‘केन्द्रमा त सरकार गठनको अत्तोपत्तो नै छैन। एमाले माओवादी गठबन्धनको चर्चा चलेको छ,’ उनले भने,‘पहिला त उनीहरुकै कुरा मिल्नु पर्यो। अनि न हाम्रो कुरा हुन्छ।’
२ नम्बर प्रदेशमा प्रत्यक्ष र समानुपातिकबाट १०७ जना सांसद निर्वाचित भएका छन्।
त्यो प्रदेशमा सरकार बनाउन चाहिने आवश्यक संख्या ५४ कुनै पार्टीसँग छैन।
यो प्रदेशको सबैभन्दा ठूलो दल बनेको फोरमले २९ सिट पाएको छ भने दोस्रो बनेको राजपासँग २५ सिट छ।
यी दुई पार्टी मिल्दा यहाँ सरकार बन्छ। यो प्रदेशमा तेस्रो बनेको एमालेले २१ सिट पाएको छ भने माओवादी केन्द्रले ११ सिट पाएको छ।
कांग्रेसले १९ सिट पाएको छ।
राजपा र फोरम दुबैले वाम गठबन्धनसँग मिलेर सरकार बनाउन सक्छन्।
हेर्नुहोस् भिडियो रिपोर्टhttps://www.youtube.com/watch?v=FeSp5oXc12I