दाङलाई प्रदेश नम्बर ५ को स्थायी राजधानी बनाउने विषयमा जिल्लाबाट प्रतिनिधित्व गर्ने तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
नेपाली कांग्रेसभित्र प्रभावशाली मानिने नेता खुमबहादुर खड्का र नेकपा माओवादी केन्द्रभित्र प्रभावशाली मानिने नेता कृष्णबहादुर महराका बीचमा सोमबार उक्त विषयमा छलफल भएको छ।
दाङ निवासी पूर्व गृहमन्त्री खड्का र पूर्व उपप्रधानमन्त्री तथा दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका महरालाई भेट्न काठमाडौंस्थित उनकै निवासमा गएर सोमबार छलफल गरेका हुन्। दुई नेताबीचमा दाङलाई प्रदेश नम्बर ५ को स्थायी राजधानी बनाउने सवालमा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल लगायतका नेताहरूसँग थप छलफल गर्ने सहमति भएको नेता खड्काले बताए।
‘एकदुई दिनमै महराजी र शंकर पोखरेलका बीचमा छलफल हुने भएपछि फेरि तीनै जना नेतासँगै बसेर कसरी अगाडि बढ्ने? भन्ने सवालमा छलफल हुनेछ,’–कांग्रेस नेता खड्काले सेतोपाटीलाई फोनमा भने ‘दाङमाथि अन्याय भएको र अब तीनै नेताले पार्टीको शीर्ष नेतृत्वसँग दाङलाई स्थायी राजधानी बनाउन लबिङ गर्ने कुरा भएको हो।’
नेता खड्काका अनुसार उनले दाङका सवालमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी नेता महराले आफ्ना पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग र एमाले नेता पोखरेलले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग लबिङ थाल्ने सवालमा सहमति बनेको छ।
उक्त सवालमा महराले पनि केही समययता तीन नेताको बीचमा फोनमा सम्वाद हुँदै आएको बताए। ‘हिजो खुमबहादुरजी मेरोमा आउनु भएको थियो, दाङ राजधानी बनाउन के गर्न सकिन्छ? भन्ने सरसल्लाह भएको हो,’– नेता महराले भने ‘एकदुई दिनभित्रै शंकरजी छलफल गरेर अगाडि बढ्ने कुरा भएको छ।’
प्रदेश नम्बर ५ का भावी मुख्यमन्त्रीका रूपमा हेरिएका एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल भने सम्पर्कमा आएनन्। दाङको निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित एवं एमाले ५ नं. प्रदेशको संसदीय दलका नेतामा समेत निर्वाचित भइसकेका नेता पोखरेलले केही दिन पहिले मात्रै तीन नेताको बीचमा सम्वाद चल्दै आएको सार्वजनिक गरेका थिए। ‘हामी अब दाङलाई कसरी स्थायी राजधानी बनाउन सकिन्छ भन्ने सम्वादमा छौं, अहिले धेरै नबोलौं परिणाम आएपछि थाहा पाइहाल्नुहुन्छ,’ नेता पोखरेलले केही दिन पहिले भनेका थिए।
देउवा नेतृत्वको सरकारले माघ तीन गते प्रदेश राजधानीको लागि चर्चा परिचर्चा हुँदै आएको दाङलाई छोडेर बुटवललाई अस्थायी राजधानी तोकेपछि तीन नेताबीचमा अब के गर्ने? भन्ने सवालमा दिनहुँजसो फोन सम्वाद हुने गरेको विश्वसनीय स्रोतले सेतोपाटीलाई बतायो।
‘तीन नेता बीचमा पहिला आफ्ना अध्यक्ष तथा सभापतिहरूसँग लबिङ गर्ने र लबिङ गर्दा राजधानी बनाउन सहमति नभए संयुक्त स्टेटमेन्ट जारी गर्दै दाङमा आन्दोलनको आँधीबेहेरी सृजना गर्ने सहमति भएको छ,’ तीन नेताबीचमा सम्वाद गराउन भूमिका खेल्दै आएका एकजना नेताले सेतोपाटीलाई भने।
उच्च अदालत, प्रदेश प्रहरी प्रमुखको कार्यालय ,प्रदेश निर्वाचन कार्यालय, अन्तरराष्ट्रिय व्यापार केन्द्र जस्ता कार्यालय दाङमै स्थापना भएपनि अन्याय पूर्वक दाङलाई छोडेर बुटवललाई अस्थायी राजधानी तोकेको हुँदा अब त्यो उल्ट्याउनु पर्ने कुरामा तीनै नेताबीचमा समान धारणा रहेको उनले बताए ।