प्रदेश नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीनजना महिलालाई राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ।
निर्वाचन अधिकृत हेमन्त रावलले कोमल वली, मीना बुढा र अनिता देवकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। वली र देवकोटा दाङ निवासी हुन् भने बुढा रोल्पा निवासी हुन्। त्यस्तै, वली र बुढा नेकपा एमालेका नेतृ हुन् भने देवकोटा नेपाली कांग्रेसकी नेतृ हुन्।
महिला कोटामा यी तीनजना महिला बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेको तथा विरुद्धमा दाबी विरोध समेत नपरेको हुँदा उनीहरूलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत रावलले सेतोपाटीलाई बताए ।
निर्वाचितहरूलाई घोषणा अवसरमा निर्वाचन कार्यालय जिल्ला अदालत परिसरमा पूर्व सांसद समेत रहेकी कांग्रेस नेतृ अनिता देवकोटालाई निर्वाचन अधिकृत रावलले अबिर र खादा ओढाएर सम्मान गरेका थिए। वली र बुढा भने त्यहाँ उपस्थित थिएनन्। यसैबीच, बाँकी ५ सदस्यका लागि ८ जनाको उम्मेदवारी परेको हुँदा माघ २४ गतेको निर्वाचन मार्फत छिनो फानो हुने कार्यालयले जानकारी दिएको छ।
उनीहरू सबै पार्टीका उम्मेद्बार भएकाले उनीहरूलाई पार्टीकै चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यस प्रदेशमा ३ सय ५ मतदाता रहेका छन्।