राष्ट्रिय सभा सदस्य निर्वाचनमा अहिलेसम्म विभिन्न प्रदेशबाट २१ जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।
काठमाडौंमा आयोगका प्रवक्ता नवराज ढकालले न्युज एजेन्सी नेपालसँग विशेष कुरा गर्दै प्रदेश नं.२ मा कुनै पनि पदमा निर्वाचन गर्नु नपर्ने भन्दै अन्य प्रदेशमा समेत विभिन्न क्लस्टरका उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेको बताएका हुन्। उनले विभिन्न प्रदेशका ५६ मध्ये २१ जनाका लागि राष्ट्रिय सभा सदस्य पदका लागि निर्वाचन गर्नु नपर्ने बताएका हुन्। प्रदेश नं ३ मा भने सम्पूर्ण पदमा निर्वाचन हुने उनले जानकारी दिए।
यसैबीच प्रवक्ता ढकालले राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको र मतपत्र समेत स्वीकृत भएको जानकारी गराए।
आयोगले निर्वाचनको लागि माघ २१ गतेसम्म आवश्यक सम्पूर्ण कर्मचारी पठाउने तयारी समेत गरेको छ। आगामी २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतगणनास्थल सातै प्रदेशको उच्च अदालत भएको जिल्लामा यस अघिनै तोकिसकेको छ।
कुल मतदाता २०५६ रहेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा मत संकेत कसरी गर्ने भन्नेबारे विभिन्न तालिम प्रशिक्षण आजबाट प्रदेशस्तरमा समेत सुरु भएको आयोगले जानकारी दिएको छ।
https://www.youtube.com/watch?v=00NjS6OsvGY