सीमाविद् बुद्धिनाराणय श्रेष्ठले नेपाल–भारतबीचको खुला सीमानालाई व्यवस्थित गर्न सरकारसमक्ष आग्रह गरेका छन्।
सोमबार राजधानीमा राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चले सीमारक्षक राजेश कोईरीलाई सम्मान गर्न आयोजना गरेको एक कार्यक्रममा बोल्दै सीमाविद् श्रेष्ठले देशको सीमाना निक्कै संवेदनशील भएकोले समयमै उचित पहल गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले भने,‘नेपालभन्दा २२ गुणा ठूलो भारतलाई नेपालको आधा रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने त्यस्तो अपुग छ जस्तो मलाई लाग्दैन, त्यसैले भारतले नेपाललाई गिद्धे नजरले हेरिरहेको छ, यसरी दिनप्रतिदिन सीमा खु्म्चिँदै जाने हो भने कुनैबेला नेपालको नक्सा खोज्नुपर्ने हुनसक्छ।’
उनले दुई देशबीच देखिएका सबै खाले सीमा विवाद र समस्याहरूलाई दुवै देशका माथिल्लो निकाय बसेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, उक्त कार्यक्रममा सुस्तामा सीमा रक्षार्थ विगत ४० वर्षदेखि सीमा रक्षक रोजश कोईरीले पहिलोपटक आफूलाई सम्मान गरेकोमा खुशी व्यक्त गरेका छन्।
उनले भने,‘सीमानाको रक्षामा मैले धेरै दुःख पाएको छु, हाम्रो समाजले धेरै दु:ख पाएको छ, पारीबाट गोली चलाउँछ, हाम्रो सुरक्षाकर्मीले हेरेर बस्छ, हामीले भारतको दादागिरीलाई स्वीकार गर्न सक्दैनौं, हाम्रो समस्या राज्यले पनि बुझ्दैन, सीमाना रक्षाको लागि म मात्रै होइन सीमानामा बस्ने नेपाल रगत बगाउन तयार छौँ।’
राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चका अध्यक्ष माधव भण्डारीले पनि सीमा विवादबारे आफ्नो धारणा राखेका थिए। उनले भने,‘सीमा विवादलाई समाधान गर्नको लागि हामी सरकारलाई आग्रह गर्छौं।’