राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले एमालेले संविधान संशोधनका विषयमा सकारात्मक धारणा सार्वजनिक नगरी संविधान संशोधनमा बाधा पुर्याएको अवस्थामा राजपा एमालेका विरुद्ध फेरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष महतोले सो कुराको चेतावनी दिएका हुन्।
कार्यक्रममा बोल्दै उनले वाम गठनबन्धनसँग सरकार गठनका विषयमा सहमति हुन नसक्ने बताए।
‘एमाले हिजो पनि संविधान संशोधनका विपक्षमा रहेको थियो आज पनि छ’, उनले भने, ‘यदि संविधान संशोधन नभएर हामी जुनसुकै खालको कदम चाल्न बाध्य हुनेछौं।’
अध्यक्ष महतोले दुई नम्बर प्रदेशमा जनताले राजपा र फोरम लोकतान्त्रिक पार्टीलाई सरकार बनाउने म्याण्डेट दिएकोले यहाँ दुई पार्टीको सहमतिमा सरकार निर्माण हुने बताए।
उनले नेपाल भारतबीच अहिले सीमा विवाद नभएको बताएका छन्।
अध्यक्ष महतोले नेपाली सञ्चार माध्यमले उचालेको भरमा नेपाली सीमा भारतले मिचेको भन्न नमिल्ने बताए।
यदि सीमा सम्बन्धित विवाद भए दुई देशका सरकारबीच कुटनीतिक सहमति र छलफलका माध्यमबाट मिलाउन सकिनेमा उनले जोड दिए।
नेपालका नेताहरूले खोक्रो राष्ट्रवादका हिसाबले भारतलाई गाली मात्रै गर्ने होइन, दुई देशबीचको आपसी सम्बन्धलाई पनि सुधार गर्न सक्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष महतोले भारतीय दूतावासमा अन्य राजनीतिक दलका नेताहरू पटक पटक पुग्दा कुनै विषय नउठेपनि हामी पुग्दा भारतवादी आरोप लगाउने काम गलत भएको टिप्पणी गरे।
अहिलेसम्म सरकारमा पुगेका आफूलाई ठूला भन्ने दलहरूले देश र जनताका विषयमा केही गर्न नसकेको उनले आरोप लगाए। नेपालमा छिमेकी देशसँगको सम्बन्धकाबारे दल र व्यक्तिपिच्छे नीति होइन राष्ट्रिय नीति निर्माण हुनुपर्ने उनको भनाइ छ।
https://www.youtube.com/watch?v=ibB7dseOZZc