नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार वर्तमान सरकार जस्तो राष्ट्रप्रति गैह्र जिम्मेवार नहुने स्पष्ट पारेका छन्।
चेम्बर अफ कमर्शका नवनियुक्त पदाधिकारीलाई पार्टी कार्यालय धुम्बाराहीमा सोमबार शुभकामना बधाई दिँदै ओलीले नयाँ सरकार लोकतान्त्रिक र विधिको सरकार हुने बताएका हुन्।
विधानले नदिने, आवश्यकता भन्दा बाहिरका विषयमा राज्यलाई आर्थिक बोझ बोकाउने ढंगका सरकारी निर्णयले उसको राष्ट्रप्रतिको गैह्र जिम्मेवारी उजागर गरेको अध्यक्ष ओलीले दाबी गरे।
उनले वर्तमान सरकारले देशको अर्थतन्त्र डामाडोल पार्ने काम गरेको आरोप लगाए।
उनले कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रमबारे गरेका निर्णय सच्याउने बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कामचलाउ सरकारले संविधान विपरीत र बजेटमा नभएका कार्यक्रम नयाँ सरकारले लागू गर्दैन।’
यसका साथै, उनले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताएका छन्।
कार्यक्रममा अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गरे।
फरक प्रसङ्गमा अध्यक्ष ओलीले नयाँ सरकार बनेपछि शेयर बजारमा असाधारण सुधार आउने दाबी पनि गरे।
बाम गठबन्धनको सरकार बनेपछि शेयर बजार खस्कने, विभिन्न किसिमका नकारात्मक प्रभाव देखिने भन्दै गरिएका प्रचारबाजीमा कुनै सत्यता नभएको बताए। उहाँले उत्साहका साथ आफ्नो व्यवसायमा अघि बढ्न नविनिर्वाचित चेम्बरका पदाधिकारीलाई सुझावसमेत दिएका थिए।
चेम्बरले आगामी कार्याकालका लागि राजेशकाजी श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। नवनिर्वाचित चेम्बरका पदाधिकारीलाई एमालेले बधाई तथा स्वागत कार्यक्रम गरेको हो।