उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले नयाँ सरकारमा सहभागी हुने संकेत गरेको छ।
अध्यक्ष यादवले एमाले संविधान संशोधन गर्न तयार भए आफ्नो पार्टी वामगठबन्धन नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन्।
उनले संविधान त्रुटिपूर्ण रहेकाले नयाँ सरकार गठन प्रक्रियामा ढिलाई भइरहेको दाबी समेत गरे।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउने हो भने संविधान संशोधन गर्ने स्पष्ट खाका लिएर आउन पनि एमाले नेतृत्वसँग आग्रह गरे।
उनले संविधान संशोधन गर्ने मुद्दा राष्ट्रिय मुद्दा बनेको र त्यसलाई सम्बोधन नगरी आफूहरू सरकारमा सहभागी हुन नमिल्ने पार्टीको अडान पनि दोहोर्याए।
अध्यक्ष यादवले प्रदेश नम्बर २ मा आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरे। उनले प्रदेश नम्बर २ मा सरकार गठनका लागि राष्ट्रिय जनता पार्टी, नेपाललगायतका दलहरूसँग छलफल भइरहेको जानकारी दिए।
अध्यक्ष यादवले आफ्नो पार्टी नेतृत्वको नयाँ सरकारले प्रदेश नम्बर २ को आर्थिक विकासमा केन्द्रीत हुने योजना सुनाए। प्रदेश नम्बर २ को बेरोजगारी समस्या समाधान गरी गरिवी घटाउँदै लैजानुपर्नेमा उनको मुख्य जोड छ ।
अध्यक्ष यादवले प्रदेश नम्बर २ लाई सिंहदरबारले सधैँ उपेक्षा गर्ने गरेको गुनासो गरे।
https://youtu.be/0Dvpgta8D1g