नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कांग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने बताएका छन्।
नेपाल प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस सरकारमा जाने कुनै योजना नरहेको बताएका हुन्।
खाँणले भने, ‘कुनै नेताले व्यक्तिगत रुपमा भन्ने कुरा अलग हो, पार्टीको सरकारमा जाने योजना छैन।’ उनले थपे, ‘पार्टीको आधिकारिक धारणा प्रतिपक्षमा बस्ने हो, सरकारले के कस्ता नीति तथा कार्यक्रम ल्याउँछ, त्यसमा आधारित भएर रचनात्मक सहयोग गर्छौंं।’
आउँदो निर्वाचनसम्ममा कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै उहाँले त्यसैका लागि कांग्रेस गृहकार्यमा लाग्ने बताए। पार्टीभित्रका गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने पनि उनले स्पष्ट पारे।
सरकारले जनताका अपेक्षाअनुसारका निर्णय गरेको भन्दै अब बन्ने सरकारले यसलाई के गर्छ भन्ने विषय उसैको सरोकारको विषय भएको उनले बताए।