नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले कांग्रेस, माओवादी र मधेशवादी दलको साझेदारीमा सरकार निर्माण हुन सक्ने सम्भावना रहेको बताएका छन्।
बिहिबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एमाले र माओवादीको पार्टी एकता सिद्धान्तभन्दा पदीय भागबण्डामा केन्द्रीत बन्दै गएकाले यस्तो अवस्था देखिन सक्ने बताएका हुन्।
उनले कांग्रेसलाई पछि पार्न एमालेले माओवादीसँग सहकार्यता गरेको र माआवादी आफू चौंथो शक्तिका रूपमा आउने आंकलन पश्चात एमालेसँग सहकार्यता गरेको बताउँदै उनले भने, ‘हाल वाम गठबन्धनमा पार्टी एकताभन्दा पनि पदीय भागबण्डाको विषय उठानले प्रष्टाएको छ।’
उनले जब जब नेपाली कांग्रेस सरकारमा जान्छ तब तब नेपलाको सीमा मिचिन्छ यसको पछिल्लो उदारण नेपाली लालपूर्जाको जग्गा रातारात भारतले आफ्नो भन्नु र त्यसलाई सरकारले समेत समर्थन गर्नुले पुष्टी गरेको बताए।
नेपला सरकार र भारत सरकारको दोहोरो तलब खाएर काम गरेको केही कर्मचारीको समेत यसमा संलग्नता रहेको उनको दाबी छ।
देउवा सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आफूले चुनाव ताका गरेको खर्च असुल गर्ने काम भएको समेत उनले बताए। माथिल्लो संसदको निर्वाचनको विषयमा कुनै कानूनी प्रावधान नभएको र यसमा संविधान विपरीत गएर कांग्रेस एमाले र माओवादीले आफ्नो अनुकूल व्याख्या गरिरहेको समेत उनले बताए।
प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था देखिएको बताउँदै बिजुक्छेंले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नुले अब झनै जटिलता देखिने बताए।
नेपालमा चुनावको परिणाम पश्चात गरिएको स्थिरता नितिमै सिमित बन्ने भन्दै बिजुक्छेंले नेपालमा राजनीतिक अस्थिरता फैलाएर फाइदा दिने विदेशी एजेण्टहरूनै कांग्रेस माओवादी र एमालेभित्र भएकाले झनै अब देश गञ्जागोलतर्फ धकेलिने बताए।
प्रदेशको राजधानीका विषयमा जसरी आवाज उठिरहेका छन् यो पहिले देखिनै आफूहरूले भन्दै आएको विषय भएको र संघीय संरचनामा देश प्रवेश पश्चात अविकसित स्थानहरूको विकासतर्फ ध्यान दिनुपर्ने भन्दै उनले सातै प्रदेशको राजधानी काठमाडौंमा राख्ने हो भने यसको कुनै औचित्य नरहेको बताए।