उच्च अदालतका नवनियुक्त चार जना मुख्य न्यायाधीशहरूले बिहिबार पद तथा गोपनियतको सपथ लिएका छन्।
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहिबार उच्च अदालतका चार जना नवनियुक्त मुख्य न्यायाधीशहरू नहकुल सुवेदी, उदयप्रकाश चापागाँई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई पद तथा गोपनियताको सपथ गराएका हुन्।
नवनियुक्त मुख्य न्यायायाधीश सुवेदीलाई उच्च अदालत तुलसीपुर, चापागाईँलाई उच्च अदालत जनकपुर, बस्याललाई उच्च अदालत दिपायल र पोखरेललाई उच्च अदालत, सुर्खेत पदस्थापन पनि गरिएको छ।
यसअघि सुवेदी सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार, चापागाईँ उच्च अदालत जनकपुरको न्यायाधीश, बस्याल उच्च अदालत जनकपुर वीरगंज इजलासको न्यायाधीश र पोखरेल उच्च अदालत तुलसीपुर बुटवल इजलासको न्यायाधीश पदमा कार्यरत रहेका थिए।
न्याय परिषदको पुस २० गते बसेको बैठकले चारै जनालाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको थियो। सपथग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा, सर्वोच्च अदालतका न्यायाधीशहरू, नेपाल बार एशोसिएशनका पदाधिकारीलगायतको सहभागिता रहेको थियो।