राष्ट्रिय सभा निर्वाचनको लागि आज प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता सम्पन्न भएको छ।
उम्मेदवारी दर्ता गराउने समय सीमाभित्र प्रदेश नम्बर दुईबाट आठ वटा सिटमा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार महिलाबाट संघीय समाजवादी फोरमका प्रमिलाकुमारी, नेपाली कांग्रेसबाट मुक्ता कुमारी यादव र माओवादी केन्द्रबाट शशिकला दाहालले उम्मेदवारी दर्ता गराएका छन्।
दलितबाट पुरुषमा संघीय समाजवादी फोरमका रामपृत पासमान,अल्पसंख्यक पुरुषमा राजपा नेपालबाट वृषेशचन्द्र लालले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी, अन्य खुला समूहमा नेपाली कांग्रेसको तर्फबाट जितेन्द्रनारायण देव, नेपाल संघीय समाजवादी पार्टीका मोहम्द अखतर हुसैन राष्ट्रिय जनता पार्टीबाट रमेशप्रसाद यादव, नेकपा एमालेबाट सुमन राज प्याकुरेलको उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, दुई जना उम्मेदवार उम्मेदवारी दर्ता गर्नबाट बन्चित भएका छन्।
माओवादी केन्द्रको उम्मेदवार नरेन्द्र साह र नेपाली जनता दलका अध्यक्ष हरिशचन्द्र साहले उम्मेदवारी दर्ता गराउनबाट बन्चित भएका हो। नेपाली जनता दलका उम्मेदवार साहले बिहान उम्मेदवारी दर्ता गराउनको लागि मनोनय फारम खरीद गरेको भएपनि उम्मेदवारी दर्ता गराउन जाँदा समर्थक र प्रस्ताव नपाएपछि उनले उम्मेदवारी दर्ता गराउन सकेनन्।
समर्थक रहेका कालिका माई गाउँपालिकाका नथुनी साहले अख्तर हुसैनको उम्मेदवार बनेपछि साहले उम्मेदवारी दर्ता गराउन नसकेकाे बुझिएको छ। त्यसैगरी माओवादी केन्द्रबाट अल्पसंख्यक समूहबाट उम्मेदवार बनेका नरेन्द्र साहले समय सकिएपछि उम्मेदवारी दर्ता गराउन पुगेको कारणले उम्मेदवारी दर्ता हुन सकेन। नरेन्द्र साहले उम्मेदवारी दर्ता गराउन जाँदा राजपाका नेताहरूले अवरोध समेत गरेका थिए। दुवै पार्टी बीचमा विवाद समेत भएको थियो । तर निर्वाचन आयोगले समेत समय सकिएको जनाए पछि दर्ता हुन सकेन ।