नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय सभाको निर्वाचनलगत्तै पार्टीले पदाधिकारी चयन र विभागहरू गठन गर्ने स्पष्ट पारेका छन्।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका छन्।
कार्यक्रममा सम्बोधन गर्दै उनले भने,‘निर्वाचन सम्पन्न भएलगत्तै हामी पदाधिकारी र विभागहरू गठन गर्छौं।’
नेता साउदले पदाधिकारी मनोनयनको लागि पार्टीभित्र र बाहिर कुरा उठिरहेको बताउँदै निर्वाचनलगत्तै त्यसबारेमा ठोस निर्णय लिइने जानकारी दिए। उनले पार्टी सभापति शेरबहादुर देउवाको अहिले विकल्प नरहेको समेत जिकिर गरे।
साउदले अहिले विशेष महाधिवेशनको कुनै संभावना नरहेको समेत स्पष्ट पारे। उनले भने,‘अहिले विशेष महाधिवेशनको कुनै संभावना छैन, यो पार्टीको हितमा पनि छैन, हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकमा ८० जना केन्द्रीय सदस्यहरूको उपस्थिति थियो, तर तीमध्ये कसैले पनि विशेष महाधिवेशनबारे एक शब्द उच्चारण गर्न सक्नुभएन, के को विशेषमा महाधिवेशन ? विशेष महाधिवेशन दुई वटा कारणले मात्रै हुनसक्छ, एउटा केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्छ, अर्को २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित बुझाउनुभयो भने विशेष महाधिवेशन बैठक बस्न सक्छ।’
उनले कांग्रेस पार्टीका इतिहासमा सभापति महाधिवेशन र क्रान्तिबाट चयन हुने भएकोले १३ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको अहिले विकल्प नरहेको दाबी गरे।
निर्वाचनमा पार्टीले व्यहोरेको हारको अहिले गम्भीर समिक्षा भैरहेको पनि उनले जानकारी दिए। उनले थपे,‘अहिले देशभरिबाट रिपोर्टहरू आइरहेका छन्, गम्भीर समिक्षा भैरहेका छन्।’
नेता साउदले मुलुक यतिबेला संविधान कार्यान्वयनको मध्यान्हतिर आइपुगेको बताउँदै भने,‘अहिले हामी राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा छौं, नयाँ सरकार गठन हुन्छ, निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्वयनको जोखिम पार हुन्छ’ उनले कांग्रेस पुरानो पार्टी भएकोले पार्टीभित्र उठेका फरक मतहरूको सम्मान गर्नै स्पष्ट पारे।
निर्वाचनमा आफूहरूले अपेक्षा गरेको अनुसार परिणाम नआएको उल्लेख गर्दै साउदले भने,‘निर्वाचनमा अपेक्षा गरे अनुसार परिणाम आएन, कांग्रेस अनुभवी पार्टी हो, हालै हामीले केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न गर्यौं, यो बैठकमा हामीले राष्ट्रिय निर्वाचनको लागि रणनीति बनायौं, चुनावको बारेमा संक्षिप्त समिक्षा गर्यौं।’
बैठकले निर्वाचनमा पराजयको मुल कारण वाम गठबन्धन बन्नु नै रहेको निश्कर्ष निकालेको पनि उनले जनाए। यद्यपी उनले निर्वाचन मतपरिणाम हेर्दा प्रत्यक्षतर्फ ज्यादा र समानुपातिकतर्फ पनि एमालेभन्दा थोरै कम मत आएको सुनाए।
पूर्वमन्त्री समेत रहेका नेता साउदले निर्वाचन सम्पन्न नहुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय बधाई आएको बताउँदै भने,‘एमालेले पनि संसदीय दलको नेता तोकेको छैन, वाम गठबन्धनभित्र पनि सहमति भएर को प्रधानमन्त्री बन्ने? भन्नेबारे एकिन भएको छैन, तर हाम्रो एमालेका सभापति आदरणीय केपी शर्मा ओलीजी बैंककबाट फर्किसकेपछि पहिल्यै अग्रिम (यहाँको राष्ट्रपति त उहाँलाई प्रधानमन्त्रीको रुपमा बोलाउनु त स्वभाविक थियो) तर पहिल्यै बाहिरबाट चाहीँ तोकिएकोजस्तो भयो, यो आश्चर्य लागेको छ।’ आफूहरू अब जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने पनि उनको भनाइ थियो।