राष्ट्रिय सभा सदस्यमा गायिका एवम् नेकपा एमालेकी नेतृ कोमल वलीसहित तीन जना महिला उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ।
प्रदेश नं. ५ बाट महिला कोटाबाट बुधबार उम्मेदवारी दर्ता गराएकी वली, एमालेकै मीना बुढा र नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको हो। प्रदेश नं. ५ मा तीन जना महिलाको कोटामा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।
निर्वाचन अधिकृत हेमन्त रावलले भने यसको औपचारिक घोषणा भने माघ १५ गते मात्रै हुने बताए ।
‘यो बिचमा कसैले उम्मेदवारी फिर्ता लिन सक्छ र कसैका विरूद्धमा दाबी विरोध पर्न सक्छ। त्यसैले निर्वाचन आयोगले १५ गते मात्रै त्यसको घोषणा गर्नेछ।’ प्रदेश नं. ५ बाट तीन जना महिलाको कोटामा अरु कसैको उम्मेदवारी नपरेपछि तीनै जना महिला नेतृलाई बधाई दिन थालिएको छ ।