माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यका लागि बुधवार विभिन्न दलहरुले मनोनय दर्ता गराएका छन्। प्रदेश नं. ५ को लागि दाङ घोराहीस्थित दाङ देउखुरी जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन । राष्ट्रिसभाको निर्वाचनका लागि विभिन्न चारवटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
नेकपा एमालेबाट चार जना, नेपाली कांग्रेसबाट चार जना, नेकपा माओबादी केन्द्रबाट दुई जना र राष्ट्रिय जनमोर्चाबाट एक गरि ११ जनाले राष्ट्रिय सभा सदस्यको निर्वाचनको लागि दाङबाट उम्मेदवारी दर्ता गराएका हुन्।
मनोनयन दर्ता कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं बुटवलवाट निर्वाचित प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं एमाले प्रदेश नं. ५ का संसदीय दलका नेता शंकर पोखरेल लगायतका नेता आएका थिए।
नेकपा एमालेबाट कोमल वली, खिमलाल देवकोटा, मिना बुढा र रामलखन चमारले उम्मेदवारी दर्ता गराएका हुन्। त्यस्तै नेकपा माओवादी केन्द्रबाट राजकुमार कवर र चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै नेपाली कांग्रेसबाट अनिता देवकोटा, दुर्गाप्रसाद उपाध्याय, मैकुलाल बाल्मिकी र लुटबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट रश्मिराज नेपालीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका उम्मेदवारले यो खबर तयार पार्दै गर्दै उम्मेदवारी दर्ता गर्नेक्रम जारी नै थियो भने वाम गठवन्धन भित्रका अन्य सबै दलहरुले भने त्यसअघि नै उम्मेदवारी दर्ता गरेका थिए।
यसैबीच उम्मेदवारको मनोनयन पत्र दर्ता सँगै बुधवार दिउँसो चार बजेदेखि पाँच बजेसम्म उम्मेदवारको सूचि प्रकाशन गर्ने, ११ गते उम्मेदवारको दाबी विरोधमा उजुरी दिने, १३ गते मनोनयन पत्र र उजुरी माथि जाँचबुझ गरी निर्णय गर्ने र १४ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उक्त दिन २ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।
५ नं. मा ३०५ मतदातामाघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा ३ सय ५ जना मतदाता छन्। मुख्य निर्वाचन अधिकृत हमेन्त रावलले राष्ट्रिय सभा निर्वाचनका लागि ३ सय ५ जना मतदाता रहेको जानकारी दिएका हुन्।
प्रदेश नम्बर पाँचमा दुई सय १८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहका छन्। त्यस्तै ८७ जना प्रदेश सभाका सदस्य रहेको र मतदानको लागि दुई वटा मतदान केन्द्र तोकिएको उनले जानकारी दिए।
एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी गरी ११ जनाको टिम रहने रावलले बताए।