प्रधानमन्त्री शेरबहादुर देउवाले बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नेगरी आवश्यक तयारी गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरी बललाई बदलिँदो परिवेश अनुसार सुदृढ बनाउन नेपाल सरकार उपयुक्त नीति र योजना तर्जुमा गर्नका लागिपरेको स्पष्ट पारेका छन्।
मंगलबार १७ औं सशस्त्र प्रहरी दिवसको अवसर पारेर काठमाडौंको हलचोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले सशस्त्र प्रहरी बलको चेन अफ कमान्डमा असर नपर्ने गरी आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले मुलुकको सुरक्षा अवस्थालाई सुदृढ बनाउन सशस्त्र प्रहरी बलले खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंसा गरे।
उनले निर्वाचन सम्पन्न भएसँगै मुलुक नयाँ कालखण्डमा प्रवेश गरेकाले सोही अनुसारको सुरक्षा व्यवस्था गर्न पनि सशस्त्र प्रहरी बललाई सचेत गराएका छन्।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले मुलुकलाई सुरक्षा दिन जस्तोसुकै जोखिम मोल्न पनि सशस्त्र प्रहरी बल तयार रहेको बताए।
उनले सुरक्षा चुनौतीमा देखिएको जटिलता हटाउन आवश्यक प्रविधि मैत्री साधन, स्रोतको बढोत्तरी नेपाल सरकारबाट हुने विश्वास पनि व्यक्त गरे।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सबै प्रदेशहरूको सुरक्षामा परिचालित हुनेगरी आवश्यक जनशक्ति व्यवस्थापन गर्ने काम भइरहेको जानकारी दिए।
https://youtu.be/iyKjr7km9Sg