इन्धन भण्डारणका लागि गरिएको जग्गा खरिदमा घोटाला गरेको आरोप लागेका आयल निगमप्रमुख गोपालबहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ।
उनीसँग अहिले बयान लिइरहेको अख्तियारका प्रवक्ता पदम पाण्डेले सेतोपाटीलाई जानकारी दिए।
'उहाँसँग हामीले बयान लिइरहेका छौँ। यो विषयमा आयल निगमका केही कर्मचारीको बयान सकिएको छ। अब सञ्चालक समिति सदस्यहरूको पनि बयान हुन्छ,' उनले भने।
पाण्डेका अनुसार आयल निगमले ७ प्रदेशमा किनेको जग्गाका धनी, स्थानीयवासी, स्थानीय निकायका सचिव लगायत २०० जनाको कागज गराइसकेको छ।
इन्धन भण्डारण क्षमता विस्तार गर्न निगमले सातै प्रदेशमा जग्गा किनेको थियो। उक्त जग्गा किनबेचको क्रममा व्यापक अनियमितता भएको भन्दै सर्वत्र आलोचना भएको थियो। निगमको जग्गा खरिद गर्दा व्यापक अनियमितता गरेको प्रकृया पूरा नगरेको र भ्रष्टाचार गरेको सार्वजनिक भएपछि सांसदले पनि उनलाई हटाउन सरकारलाई पटकपटक निर्देशन दिएको थियो।
त्यसपछि सरकारले उनलाई बर्खास्त गर्यो। तर खड्का सर्वोच्च अदालत गए। सर्वोच्च अदालतले उनलाई पूनर्बहाली गर्न आदेश दिएपछि उनी काममा फर्किएका थिए।
उनीमाथि अख्तियारले अहिले अनुसन्धान गरिरहेको छ।