श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूले राज्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।
सेतोपाटीसँगको फोन सम्वादमा उनले दाङलाई प्रादेशिक राजधानी बनाउन नसकेको हुँदा नैतिकताको आधारमा सोमबार नै सचिवालयमा गएर राजीनामा दिएको जानकारी दिए।
‘दाङलाई प्रदेश नं. ५ को प्रदेश राजधानी बनाउनका लागि मैले इमानदारीपूर्वक पहल गरेको हुँ, तर, मेरो आवाज अग्रज नेताहरूले सुनेनन्,त्यसैले राजीनामा बुझाएको हुँ,’ नेपाली कांग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. ३ को १ बाट निर्वाचित प्रदेश सदस्य समेत रहेका चौधरीले भने।
चौधरीले आफूले राजीनामा दिएको बारेमा प्रधानमन्त्री र शीर्ष नेता सबैलाई अवगत गराएको बताए। ‘प्रधानमन्त्री रिसाउनु भयो, चुप लागेर बस्न भन्नु भयो,तरपनि मैले राजीनामा बुझाएको छु,’ राज्य मन्त्री चौधरीले भने।
प्रदेश नं. ५ को केन्द्र भाग दाङलाई अस्थायी राजधानी नतोकेर भौगोलिक रूपमा अपायक पर्नै कुनोलाई राजधानी बनाउनु अन्याय भएको बताए। आफूले इमानदारीपूर्वक प्रयास गरेको भएपनि नेता बालकृष्ण खाँण लगायतको प्रेसरले गर्दा बुटवल अस्थायी राजधानी भएको उनले बताए। बुटवल राजधानी हुँदा दाङमा आन्दोलन गराउन भूमिका खेलेको भन्दै नेता खाँण लगायतका बुटवल क्षेत्रका नेताहरूले समेत आफूसँग असन्तुष्टि व्यक्त गरेको चौधरीले बताए।
यसैबीच, उनले अब बन्ने प्रदेश सरकारले दाङलाई स्थायी प्रदेश राजधानी बनाउनु पर्ने बताए। ‘दाङकै मुख्यमन्त्री बन्ने निश्चित छ र बहुमत वामकै छ , त्यसैले दाङ नै राजधानी बनाउनु हुन्छ भन्ने विश्वास छ,’ चौधरीले फोनमा भने। राज्यमन्त्री चौधरीले आइतबार मात्रै अस्थायी राजधानी बुटवल गएर प्रदेश सदस्यको सपथ लिएका थिए ।