नेपाली कांग्रेसले प्रदेश नम्बर ७ बाट राष्ट्रिय सभाका लागि ४ उम्मेदवार तय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभाका उम्मेदवारबारे छलफल गरिरहेको छ।
अहिलेसम्म प्रदेश ७मा महिला, दलित र अपाङ्ग कोटाबाट उठाउने उम्मेदवार टुंगो लगाएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।
बद्री पाण्डे, तारा भट्ट (महिला), शेरी राम पार्की (दलित), र छत्रराज जोशी (अपाङ्ग) लाई राष्ट्रियसभाका उम्मेदवार बनाउने पक्का भएको उनले बताए। अरु उम्मेदवारमाथि छलफल भैरहेको पनि उनले जानकारी दिए। राष्ट्रियसभा निर्वाचनमा प्रत्येक प्रदेशबाट ८ जना सांसद हुने व्यवस्था छ।
प्रदेश सभा सदस्य र गाउँ/नगरपालिकाका प्रमुख उपप्रमुखले राष्ट्रियसभाका सांसद चुन्ने छन्।
माघ २५ गते हुने चुनावमा १० गते सम्म उम्मेदवारी टुंगो लगाइसक्नुपर्ने निर्वाचन कार्यतालिका छ।