राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने भएको छ।
पार्टीको जारी राजनीतिक समितिसहितको अध्यक्ष मण्डल बैठकले कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेको हो।
राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र संघीय समाजवादी फोरम, नेपालसँग तालमेल गरेर जाने गरी छलफल अघि बढाइएको पार्टीका नेता केशव झाले जानकारी दिए।
राष्ट्रिय सभा निर्वाचनको तालमेलका लागि दुई दलसँग वार्ता गरेर सिट बाँडफाँटको टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष मण्डललाई नै दिइएको पनि नेता झाले बताए।
आगामी माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।
निर्वाचनका लागि मंगलबारसम्म उम्मेदवार तय गरिसक्ने पार्टीको योजना छ। सोही योजना अनुसार राष्ट्रिय जनता पार्टी, नेपालले गत शनिबार नै कांग्रेस नेतृत्वसँग राष्ट्रिय सभाको सिट बाँडफाँटका विषयमा औपचारिक छलफल अघि बढाएको थियो।
प्रदेश नम्बर २ मा कम्तिमा ५ सिट आफ्नो पार्टीलाई दिनुपर्ने प्रस्ताव राष्ट्रिय जनता पार्टी, नेपालले कांग्रेससँग राखेको छ। नेता झाका अनुसार उपेन्द्र यादव नेतृत्वको फोरम नेपालसँग पनि चुनावी तालमेलको बारेमा पार्टीका अध्यक्ष मण्डलले औपचारिक, अनौपचारिक छलफल गरिरहेको छ।
आगामी माघ १० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार मनोनयन गर्ने कार्यसूची छ ।