राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको हनुमानढोकास्थित नासल चोकमा बसन्त श्रवण गरेकी छन्।
बसन्त पञ्चमीको अवसरमा राष्ट्रपति भण्डारीले सोमबार बिहान ११ बजेर १७ मिनेटको शुभ साइतमा बसन्तपुरस्थित नासल चोकमा बसन्त श्रवण गरेकी हुन्। त्यस अवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरेको थियो।
बसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले बसन्त श्रवण गर्ने चलन रहिआएको छ। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
शुभसाइतमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो। हनुमान ढोकाका मूल पुजारी देवराज अर्यालले बसन्त श्रवण गराउनुका साथै विशिष्टजनमा प्रसाद अर्पण गरेका थिए।
https://www.youtube.com/watch?v=L6-oYRzEouk
साथै, काठमाडौं महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, पुरातत्व विभागका उच्च अधिकृतको समेत सो बसन्त श्रवणमा सहभागिता थियो। सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु प्रारम्भ हुने भएकाले आजका दिनलाई ‘बसन्त पञ्चमी’ भन्ने गरिन्छ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ। गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ।
बसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक, कान छेडिदिने गरिन्छ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजनका साथै खासगरी छात्रछात्राको घुइँचो लागेको छ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्याकी देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ।