अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिको बारेमा गरिएको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन्।
मन्त्री राणाले अर्थ मन्त्रालयले पहिलो चरणको अनुसन्धान सम्पन्न गरेर दोस्रो चरणको छानबिनका लागि अन्तरराष्ट्रिय संस्थासँग समन्वय गर्न लागिएको बताएका छन्।
आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री राणाले सुमार्गीले विदेशबाट अवैध रूपमा नेपालमा पैसा ल्याएको भन्ने विषयमा नेपालमा मात्रै अनुसन्धान गरेर सबै कुरा पत्ता लगाउन नसकिएको बताए।
साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालमा मात्रै अनुसन्धान गर्न सकिँदैन। विदेशी संस्था र बैंकसँग पनि समन्वय गर्नुपर्छ। त्यो चरण सुरू भएको छ,’ मन्त्री राणाले अघि भने,‘प्रि–इन्भेष्टिगेशन सकिएको छ। अब इन्भेष्टिगेशनमा जाने प्रक्रियामा छौं।’
अनुसन्धानका क्रममा सुमार्गीले कहाँबाट कसरी पैसा ल्याएर र उक्त पैसा कहाँ लगानी भएको छ? भन्ने कुराको विषयमा अनुसन्धान भइरहेको राणाले बताए।
सुमार्गीले स्रोत नखुलेको अरबौँ रकम नेपाल ल्याएको र अझै मोटो रकम भित्र्याउन प्रयासमा रहेको आरोप लाग्दै आएको छ।