नेकपा एमालका नेता तथा भावी मुख्य मन्त्रीका रूपमा आफूलाई दाबी गर्दै आएका शंकर पोख्रेलले माघ मसान्तसम्म प्रदेश सरकार गठन भइसक्ने बताएका छन्।
सेतोपाटीसँगको प्रतिक्रियामा पोखरेलले माघ मसान्तसम्म प्रदेश सरकार बन्ने र आफू नै मुख्यमन्त्री बन्ने दाबी गरे। सरकारले बुटवल अस्थायी राजधानी तोकेको भएपनि राजनीतिक सहमतिका आधारमा स्थायी राजधानी तोकिने उनले बताए। दाङ निवासी नेता पोखरेलले कुन ठाउँमा स्थायी राजधानी बनाउने सवालमा भने केही कुरा व्यक्त गरेनन्। प्रदेशसभाको बहुमतले स्थायी राजधानीको टुंगो लगाउने बताएका उनले तर त्यसमा पनि राजनीतिक सहमति खोज्न प्रयत्न हुने बताए।
दाङ निवासी नेपाली कांग्रेसका नेता तथा श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले सहमतिको आधारमा प्रदेश राजधानी दाङलाई बनाउनु पर्ने बताएका छन्। ‘अब प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब दाङलाई न्याय गर्नुपर्छ’ राज्य मन्त्री चौधरीले भने।
आफू दाङलाई स्थायी राजधानी बनाउनका लागि निरन्तर लागि पर्ने उनले बताए। दाङका नेता झन्डै डेढसय किलोमिटरको दूरी छिचोल्दै बुटवलमा सपथ लिन आएका थिए।
बुटवल नै स्थायी हुन्छ – खाँणनेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले भने बुटवल नै प्रदेश नं. ५ को स्थायी राजधानी हुने दाबी गरेका छन्। सेतोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व मन्त्री समेत रहेका खाँणले सो कुरा बताएका हुन्। ‘हाम्रो पहलले बुटवल अस्थायी भइसकेको छ र अब हाम्रो आग्रहले बुटवल नै स्थायी राजधानी हुनेछ,’ नेता खाँणले भने।