प्रदेश नम्बर ४ का सांसदहरूले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार प्रदेशसभामा निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथ ग्रहण गराएका छन्।
सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेश प्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो। आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरू गरेकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै गराउनु परेको हो। प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुवँरले प्रदेश नम्बर चारको कार्यालयमा पदबहाली गरे। उनले पदबहालीपछि संविधानले दिएको अधिकार प्रयोग गरी काम गर्ने बताए।
पदबहालीपछि प्रमुख कुवँरले प्रदेश नम्बर चारका जेष्ठ सभा सदस्य जनकलाल श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरे। ६७ वर्षिय श्रेष्ठ नवलपुर क्षेत्र नम्बर २ ‘ख’ बाट प्रत्यक्ष निर्वाचीत भएका हुन्। श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण लिएपछि प्रदेश सभा सदस्यलाई साविकको नगर प्रशिक्षण कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणपछि सांसदहरूले प्रदेशको विकासका लागि काम गर्ने बताए।
प्रदेश नम्बर ४ का दुई जना सांसद भने शपथ ग्रहणमा अनुपस्थित जनाए। मनाङ प्रदेश नम्बर ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी राजिव गुरुङ (दीपक मनाङ्गे) सपथ र तनहुँका सांसद राम बहादुर गुरुङ शपथ ग्रहणमा अनुपस्थित भएका हुन्। एमालेको समर्थनमा स्वतन्त्र रूपमा विजयी भएका राजिव प्रहरीको खोजी सूचीमा परेपछि शपथका लागि नआएका हुन् भने तनहुँका रामबहादुर विदेश गएका कारण अनुपस्थित रहेको बताए। शपथपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता तथा सांसद पृथ्वी सुब्बा गुरुङले प्रदेश नम्बर चारको मुख्य मन्त्री आफैँ हुने बताए । उनले सबैको समर्थन रहेको बताए ।
प्रदेश नम्बर ४ मा प्रत्यक्ष तर्फ ३६ र समानुपातिकमा २४ गरि ६० जना सभासद् छन्। एमाले २७, नेपाली कांग्रेसबाट १५, माओवादी केन्द्रबाट १२, राष्ट्रिय जनर्मोचाबाट ३, नयाँ शक्तिबाट २ र स्वतन्त्र १ सांसद रहेका छन् ।