पाँच नम्वर प्रदेशका ८७ जना प्रदेश सदस्यहरूले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण लिएका छन्। प्रत्यक्षतर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट ३५ जना गरी कुल ८७ जनाले बुटवल उद्योग वाणिज्य संघको सभाहलमा सपथ लिएका हुन्।
बुटवल उपमहानगरपालिका वडा नं. ५ खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको हलमा बिहान ११ बजेदेखि सुरू भएको सपथ ग्रहण कार्यक्रम साढे १२ बजेतिर सकिएको थियो।
प्रदेशको अस्थायी मुकाम बुटवलस्थित संघको हलमा सुरूमा प्रदेश प्रमुख उमाकान्त झाले जेष्ठ सदस्य बलदेव शर्मा पोख्रेललाई सपथ ग्रहण गराएका थिए। विक्रम सम्वत १९९५ साल माघ १९ गते जन्मिएका पोखरेल बुटवलको तिलोत्तमा उपमहानगरपालिका वडा नं. १८ का स्थायी बासिन्दा हुन्। त्यसपछि जेष्ठ सदस्य पोखरेलले अन्य ८६ जना प्रदेश सदस्यहरूलाई सामूहिक रूपमा ईश्वरको नाममा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।
त्यसपूर्व पाँच नम्वर प्रदेशका प्रमुख उमाकान्त झाले पदबहार ग्रहण गरेका थिए। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले बिहान १० बजे नै पदबहार ग्रहण गरेका थिए। पदभार ग्रहण गर्दै झाले प्रदेश सरकार गठन र संसदीय प्रक्रिया अनुसार अघि बढाउने प्रतिक्रिया दिएका छन्। प्रमुख झालाई रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी सम्भुप्रसाद रेग्मीले पद बहाली गराएका थिए।