दाङमा ५ दिनदेखि जारी आमहड्तान शनिबार बेलुकादेखि स्थगित भएको छ। भोलि बिहान बुटवलमा प्रदेश नं. ५ का प्रदेशसभा सदस्यको सपथ ग्रहण कार्यक्रमका लागि भन्दै जारी आन्दोलन र आमहड्ताल स्थगित भएको हो।
दाङबाट विजयी भएका ६ जना प्रदेश सांसदहरू भोलि सपथग्रहणका लागि बुटवल जाँदैछन्। प्रदेशका मुख्य मन्त्रीको लागि प्रस्तावित शंकर पोखरेलसहित एमालेका चार जना, माओवादी केन्द्रका एक र नेपाली कांग्रेसका एक गरि कुल ६ जना दाङबाट प्रदेश सभामा विजयी भएका छन्।
संयुक्त आन्दोलन संघर्ष समितिका जिल्ला संयोजक टीकाराम खड्काले बैठकपछि शनिबार बेलुका जारी गरेको विज्ञप्तिमा आमहड्ताल र बन्दका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख गरेका छन्। शनिवार बेलुका बसेको संघर्ष समितिको बैठकले आफ्नो बचाउ गर्दै माघ २४ गतेको राष्ट्रियसभाको निर्वाचन र निर्वाचन आयोगको आग्रहलाई समेत मध्यनजर गर्दै बन्द गर्नु परेको उल्लेख गरेको छ।