प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारलाई नेपाली कांग्रेसले बधाई दिएको छ।
निर्वाचन पछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री, नेपाल सरकार, निर्वाचन आयोग लगायत सबैलाई धन्यवाद दिएको हो।
'सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुले अत्यन्त उत्साह, संयम र धैर्यताका साथ आफ्नो मत दिनु भएको छ । निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले नेपाली कांग्रेसलाई थप प्रेरणा मिलेको छ,' कांग्रेसको निर्णयमा उल्लेख छ, ' निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गरी संविधान कार्यान्वयनका लागि निर्वाह गरेको नेतृत्वदायी भूमिकाका लागि सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारलाई हार्दिक धन्यवाद।'
चुनावको समीक्षा र राष्ट्रिय निर्वाचनको छलफल गर्न भन्दै विहिबार देखि बैठक बसेको थियो। समीक्षा नगरि बैठक सकिएको छ।
कांग्रेसले निर्वाचनको समीक्षा बैठक भने अझै एक महिना लम्याउने देखिएको छ। यस्तो बैठक छिटै डाक्न केन्द्रीयसदस्यहरुले पार्टी सभापति देउवालाई दबाब दिँदै आएका थिए। देउवाले विहिबारको बैठकको सुरुमै समिक्षा बैठक निकट भविश्यमा राख्ने भनेका थिए। त्यसमा खुलेर सहभागी हुन पनि सबै सदस्यलाई आग्रह गरेका थिए। शुक्रबार सकिएको बैठकले समीक्षा बैठकको मिति तय गर्ने अपेक्षा गरिएको थियो। मिति नतोकी समिक्षा बैठकमा प्रस्तुत गर्न एक महिनाभित्र गाउँ देखि जिल्ला सम्मका कार्यसमितिले गरेको समीक्षा र निर्णयहरु साथै प्रत्यक्ष तर्फका उम्मेदवारलाई प्रतिवेदन पेश गर्न निर्देशन बैठकले निर्देशन दिएको छ।
राष्ट्रियसभाका लागि पार्टीमा महत्वपूर्ण योगदान दिएका व्यक्तिलाई उम्मेदवार बनाउने पनि उक्त निर्णयमा उल्लेख छ। पनि केन्द्रीय समितिले निर्णय गरेको छ।
विहिबार देखि बसेको बैठकमा देउवा पक्षले वामगठबन्धनका कारण हारिएको बताउँदै राष्ट्रियसभामा जुट्नुपर्ने धारणा राखेका थिए। रामचन्द्रपक्षधरहरुले भने उम्मेदवार बनाउने संसदीय समिति र कार्यसम्पादन समिति विधान विपरित भएको भन्दै विघटन गर्न माग गरेका थिए। यूवाहरुले भने नेतृत्वले चुनावी हारको जिम्मा लिनुपर्ने धरणा राखेका थिए।