नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनालले एमाले–माओवादी केन्द्रबीच चाँडै एकता हुनेगरि गृहकार्य भैरहेको जानकारी दिएका छन्।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी दिएका हुन्।
कार्यक्रममा उनले भने,‘आज र भोलि नै हाम्रा दुई अध्यक्षहरूबीच भेटवार्ता भएर सबै कुरा खासगरी पद बाँडफाँट टुंगो लगाउनु हुन्छ, पार्टी एकता अब छिट्टै हुन्छ’ उनले दुई नेताहरूमध्ये एक जना प्रधानमन्त्री र अर्को अध्यक्ष हुने पनि विश्वास दिलाए। संवैधानिक जटिलताहरू भएकोले सरकार गठनमा केही ढिलाइ भैरहेको उनको स्पष्टोक्ति थियो।
नेताहरूले चुनावी नारा दिँदा नै यो प्रदेशको राजधानी यो ठाउँ हुन्छ भनेर सार्वजनिक रूपमा बोलेको उल्लेख गर्दै नेता खनालले भने,‘अरु प्रदेशको कुराहरू पनि छन्, तर ५ नम्बर प्रदेशको हकमा हामीले पनि राजधानी कपिलवस्तु हुनुपर्छ भनेर सार्वजनिक रूपमा कुरा उठाएकै हो, सबै हिसाबले कपिलवस्तु उपर्युक्त हुन्छ।’
उनले भने,‘अब आन्दोलन गर्नुभन्दा पनि कसरी दुई तिहाई पुर्याउन सकिन्छ भन्नेतिर कसरत गर्नुपर्छ, तर सबै हिसाबले कपिलवस्तु उपर्युत छ, यो ऐतिहासिक छ, राजधानी बनेसँगै सिद्धार्थ गौतमबुद्ध जन्मेको ठाउँ नयाँ सहर बन्छ।’
राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले मुलुकमा १० प्रदेश भईदिएको भए अहिले प्रदेशको अस्थायी राजधानीको नाममा कुनै आन्दोलन नै नहुने थियो भन्ने धारणा राखे। उनले भने,‘सरकारले तोकेको अस्थायी राजधानीको बारेमा थुप्रै ठाउँमा विवादहरू छन्, आन्दोलन भएका छन्।’
उनले ७ प्रदेश वैज्ञानिक नभएको समेत जिकिर गरे। उनले भने,‘जनताले एकातिर माग गरे, तीन ठूला पार्टीहरुले अर्के गरिदिए, त्यसैले ७ प्रदेश अवैज्ञानिक थियो, अहिलेको आन्दोलन पनि त्यसैको प्रतिफल हो।’
उनले २ नम्बर प्रदेशको राजधानी वीरगन्ज हुनुपर्छ भनेर अहिले जारी आन्दोलनबारे टिप्पणी गर्दै भने,‘अहिले आन्दोलन जरुरी छैन, आन्दोलन गर्नुको कुनै औचित्य छैन, धैर्यता गर्नुपर्ने थियो, निर्वाचित संस्थाले फंक्सन गरेको छैन, अहिलेको आन्दोलनमा काम नपाएकाहरू खासगरी चुनाव हारेकाहरूले गरेका हुन्।’
उनले चुनावमा हारेकाहरूले काम नभएकोले आन्दोलन गरिरहेको आरोप लगाए ।
त्यस्तै उनले सरकारले हालै नियुक्त गरेका प्रदेश प्रमुखहरु निर्वाचित नभएकोले नयाँ सरकारले यसबारेमा पनि विचार गर्न सक्ने बताए । प्रदेश प्रमुखहरूलाई अनुभव केही पनि नभएकोले यसको लागि बरु सेमिनार, गोष्ठी र तालिमहरूको व्यवस्था गर्नुपर्नेतिर सरकारको ध्यानाकर्षण गराए ।
उनले प्रदेश प्रमुखहरुलाई परिवर्तन गर्नुभन्दा पनि तालिम प्रदान गर्नतिर ध्यान दिनुपर्ने सुझाव दिए। उनले भने,‘प्रदेश प्रमुख चेन्ज गर्दा असर पर्छ, संघीयतामा पनि असर पर्छ।’
उनले अब छिट्टै नयाँ सरकार गठन हुने पनि विश्वास दिलाए । उनले भने,‘राष्ट्रिय सभाको निर्वाचन हुँदैछ, संसदले पूर्णता पाएपछि नयाँ सरकार गठन हुन्छ।’