चार वर्षअघि संविधान सभा सदस्य निर्वाचित हुँदा रामेश्वर फुँयालललाई डेराको चाँजोपाँजो मिलाउनु परेको थियो न त बैठक बस्न नयाँ ठाउँ नै जानु परेको थियो।
देशभरिका सांसद नै यहाँ आएका थिए। त्यसै पनि मेची–कालीका मान्छे काठमाडौं भेला भएकै हुन्थे, त्यसैमा सांसद पनि थपिन्थे।
काठमाडौंका स्थायी वासिन्दा फुँयाल यसपालि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। प्रदेश नम्बर तीनको अस्थायी मुकाम हेटौंडा तोकिएसँगै उनी अब बैठक बस्न हेटौंडा जानु पर्छ। नियमित बैठकमा गइरहनु पर्ने भएकाले उनले हेटौंडामा डेरा पनि खोज्नुछ।
‘हेटौंडा प्रदेश राजधानीका लागि उपयुक्त ठाउँ होइन। तर जहाँ भए पनि मैले जनताको काम गर्नेछु,’ फुँयालले सेतोपाटीसँग भने, ‘म काठमाडौंको भए पनि हेटौंडालाई टाढा देखेको छैन। जनताको काम गर्ने हो, रुखको टुप्पामा बसेर पनि गरिन्छ।’
फुयाँलजस्तै प्रदेश सभाका ३ सय ३० जना सांसद १ महिनाअघि प्रत्यक्ष चुनावबाट निर्वाचित भएका थिए। शुक्रबार समानुपातिकबाट विजयी २ सय २० सांसदले प्रमाणपत्र पाएका छन्।
प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि प्रदेश सभाको पहिलो बैठक कहाँ हुने हो भन्ने पनि टुंगो थिएन। चुनाव जिते पनि सपथको टुंगो नभएपछि सांसदहरू कोही काठमाडौं आएका थिए, कोही गृहजिल्लामै बसेका थिए।
हुम्ला ‘ख’ बाट निर्वाचित कांग्रेसका जीवनबहादुर शाही पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन काठमाडौं आएका छन्।
अब केही दिनमा प्रदेश सभा सदस्यको सपथ लिन सुर्खेत जाने उनको तयारी छ।
फुँयाल र शाहीजस्तै देशभरिका प्रदेश सभा सदस्य नयाँ जोश र सपना बोकेर अस्थायी मुकाममा भेला हुँदैछन्। उनीहरुमध्ये कतिपयलाई प्रतिनिधि सभा सदस्य र मन्त्री भएको अनुभव छ, कोही पहिलो पटक सांसद बन्दै छन्।
कांग्रेस केन्द्रीय सदस्य शाही प्रदेश नम्बर ६ को मुख्यमन्त्री बन्ने सपना बोकेर प्रदेशमा चुनाव लडेका थिए। तर उनको प्रदेशमा कांग्रेसले नराम्रो पराजय बेहो¥यो। प्रत्यक्षतर्फ प्रदेश सभामा जित्ने उनी एक्ला भए। समानुपातिकका पाँच जनासहित सो प्रदेशमा अब कांग्रेसका ६ सांसद छन्।
‘मेरा लागि दुर्भाग्य नै भयो। मुख्यमन्त्री बन्ने लक्ष्यले प्रदेश सभामा आएको हो तर म मात्रै निर्वाचित भएँ,’ शाहीले भने,‘प्रदेशको नेतृत्व लिएर विकास गर्न नपाए पनि अब बन्ने सरकारलाई उसको कामका आधारमा प्रतीपक्षी बनेर रचनात्मक सहयोग गर्छु।’
जनसंख्या कम भए पनि भौगोलिक रुपमा यो प्रदेश सबैभन्दा ठूलो छ, तर जनसंख्याको ठूलो हिस्सा अझै गरिबीको रेखामूनि छ। प्रदेशको यही गरिबी हटाउने शाहीको अठोट छ।
‘अब केन्द्रको जिम्मेवारी प्रदेशमा गएको छ,’ शाहीले भने,‘कांग्रेस विपक्षमा भए पनि यो प्रदेशलाई समृद्ध बनाउन हामी लागिरहन्छांै।’
मंसिर २४ गते विजयी भएको प्रमाणपत्र लिएका नवलपरासी (बर्दाघाट पश्चिम) का एमाले प्रदेश सांसद वैजनाथ चौधरीले ढिलै भए पनि अन्यौलता हटेको बताए।
‘मंसिरमा निर्वाचन भएको भए पनि माघमा प्रदेश प्रमुखको नियुक्ति र अस्थायी मुकाम तोकिएको छ। अब प्रदेश सरकार बन्छ’ उनले भने, ‘हामीले काम गर्न पाउँछौं।’
सरकारको अकर्मण्यता र अहिलेको प्रतीपक्ष (एमाले) को अदुरदर्शिताले एक महिना घाटा लागेको सप्तरी–२(ख) का राजपा सांसद मनिष सुमनको आरोप छ।
‘यस्तो झन्झटिलो निर्वाचन प्रणालीमा पनि जनताले सहजै मतदान गरे। तर संविधानको जटिलताले गर्दा बिलम्ब हुन पुग्यो,’ उनले भने,‘हामी त सपथ नगरिकन मतदाता भइन्छ जस्तो छ। आफ्नो कुनै ठेगान छैन तर अर्काको लागि मतदान गर्नु पर्ने भएको छ।’
पहिलो पटक प्रदेश सांसद बन्न पाएकोमा खुशी लागे पनि त्यस पछाडिका चुनौती धेरै रहेको उनले बताए।
‘हाम्रो कार्यकाल प्रदेशको व्यवस्थापनमा नै जान्छ कि जस्तो छ। हामी धेरै समयसम्म केन्द्रीय सरकारप्रति उत्तरदायी हुनुपर्छ,’ उनले भने,‘केन्द्रीय कर्मचारीतन्त्र र यहाँको कानुनले हामीलाई नियन्त्रण गर्छ।’
मकवानपुर–२(क) बाट निर्वाचित माओवादी केन्द्रकी सांसद कुमारी मोक्तानले विजयी भएको डेढ महिनासम्म पनि काम गर्न नपाउँदा अब के होला भन्ने लाग्थ्यो।
‘अब बाटो सहज भएको छ, हाम्रो पहिलो ध्यान प्रदेश सरकार बनाउनमा केन्द्रीत हुनेछ,’ उनले भनिन्,‘प्रदेश सफल बनाउनका लागि परिणामसहितको प्रदेश सरकार जरुरी छ। हामी त सफल भएका छौं अब प्रदेशलाई सफल गराउन पर्छ।’
देशले प्रदेशलाई कस्तो अधिकार दिन्छ त्यहीअनुसार आफूहरुले काम गर्ने संघीय समाजवादी फोरमका महोत्तरी–४(ख) का सांसद सरोजकुमार सिंहले सेतोपाटीलाई बताए।
‘जनताका प्रतिनिधि हौं। हामीले जनतमतअनुसार काम गर्नु पर्छ,’ उनले भने,‘जनतालाई कसरी प्रदेश सरकारको प्रत्याभुति दिलाउने भन्नेमा हाम्रो ध्यान केन्द्रीत रहन्छ।’