प्रतिनिधिसभा र प्रदेश सभा चुनावपछि पहिलो पटक बिहिबार बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवापक्ष, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कांग्रेस सुधारको माग राख्ने यूवा नेताहरु बीच जुहारी नै चल्यो।
चुनावको समीक्षाका लागि केन्द्रीय समिति डाक्न सभापति देउवालाई नेता कार्यकर्ताको व्यापक दवाब थियो। तर देउवाले बिहिबारको बैठकलाई समीक्षाभन्दा राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित गर्न प्रस्ताव गरे।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, आजको बैठक सुरु गर्दै प्रधानमन्त्री देउवाले चुनाव गराएर संक्रमणकाल अन्त्य भएकोमा सबैलाई बधाई दिएका थिए।
चुनावमा नराम्रो हार बेहोरेपछि नेतृत्व परिवर्तन लगायत पार्टी सुधारको मुद्दा कांग्रेसभित्र जोडतोडका साथ उठिरहेको छ। यहि मुद्दा मा छलफल गर्न केन्द्रीय समिति, महासमिति बैठक र विषेश महाधिवेशन सम्मको माग उठिरहेको छ।
देउवाले यिनै माग राख्नेलाई सुरुमै आश्वासन दिए – हारको गम्भीर समीक्षा गर्न जरुरी छ। सम्पूर्ण साथीहरुलाई म खुला ढंगले समीक्षा केन्द्रीय समिति बोलाउँछु। समीक्षा पछि निकट भविष्यमै महासमिति बैठक बस्ने छ। राज्यको पुनर्संरचा अनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्त सञ्चार हुने गरि पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले दिशानिर्देश गर्ने छ। भने राष्ट्रियसभा चुनाव कसरी गर्ने भन्नेमा छलफल गरौँ।
तर राष्ट्रियसभा चुनाव भन्दा हारको समीक्षाबारे बैठकमा धेरै कुरा उठे।
उनले बोलेपछि केन्द्रीय सदस्य नविन्द्रराज जोशीले आफ्ना कुरा राखे। उनी पछि कल्याण गुरुङ्गको पालो आयो। उनले सभापति देउवाले पार्टी सभापति र प्रधानमन्त्रीको हैसियतले गरेका केही कामको आलोचना गरे।
गुरुङले पार्टी विधान विपरित कार्यसम्पादन समिति र उम्मेद्वार चयन गर्ने संसदीय समिति बनाएकोमा आपत्ति जनाएका थिए।
'तपाईँले अवैधानिक समिति बनाउनु भो, कार्यसम्पादन समिति छँदै थियो संसदीय समितिमा विधान विपरित संख्या तोक्नु भयो। त्यसले चुनावी परिणाममा असर गर्यो। केन्द्रिय समितिले अपवाद बाहेक समानुपातिकमा उम्मेदवार नदोहोर्याउने निर्णय गरेको थियो तर तपाईँले आफुलाई मन परेका अनुहारलाई मात्र अवसर दिनुभयो,' उनले भनेका थिए,'पार्टीमा योगदान गरेका दुख गरेका मान्छेहरु बाहिर छन् तपाई तिनिहरुको पनि सभापति बन्न सक्नुपर्थ्यो।'
गुरुङले यति भन्दा भन्दै सभापति देउवाले उनलाई आफ्ना कुरा छोट्याउन भनेका थिए। तर गुरुङ बोलिरहे।
'भर्खरै प्रदेश प्रमुख नियुक्त गर्दा पनि तपाईँले लोकतन्त्रका लागि योगदान गरेका मानिस ल्याउनु भएन। पञ्चायती व्यवस्थामा काम गरेको पृष्ठभूमि भएकालाई ल्याउनुभयो। संघीयता कार्यान्वयनको यो अवसरमा लोकतन्त्रको मूल्य बुझेका मानिसलाई ल्याउनुपर्थ्यो…'
सभापति देउवाले उनलाई फेरि रोके र भने, 'तपाई धेरै नबोल्नुस् अब।'
अनि विमलेन्द्र निधिलाई बोल्ने समय दिइहाले। गुरुङ बसे।
बैठकमा भएको गलफत्तिबारे गुरुङले सेतोपाटीसँग भने, 'सभापतिले मलाई तीन मिनेटमै रोक्नुभो। रिसाउँदै धेरै नबोल भन्नुभयो तर प्रकाश शरण महत र महेन्द्र यादवहरु ४५ मिनेट बोले। उनीहरुले उहाँको समर्थनमा कुरा गरेका थिए।'
निधिले चुनावको समीक्षा अघि राष्ट्रिय सभाको निर्वाचनमा कसरी जाने भन्ने विषयमा सोच्न सबैलाई आग्रह गरे। राष्ट्रियसभा निर्वाचनको बेलामा पार्टीका आन्तरिक विषय बाहिर छताछुल्ल पार्नु भन्दा मिलेर अघिबढ्नुपर्ने उनको भनाइ थियो।
चुनावका बेला पार्टीका आन्तरिक विवाद बाहिर ल्याउन नहुनेमा वरिष्ठ नेता रामचन्द्रपौडेलले पनि सहमति जनाए। तर उनले केन्द्रीय कार्यसमिति र संसदीय समिति विधानविपरित गठन भएको भन्दै सभापतिले तिनलाई विघटन गर्नुपर्ने प्रस्ताव राखे।
'उहाँले यी दुवै समितिमा पहिले आफु बसेकोमा आत्मालोचना पनि गर्नुभएको थियो, ' केन्द्रीय सदस्य गुरुङ्ले सेतोपाटीसंग भने।
बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्रीलाई राजनीतिक भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
'अब तपाईँहरुबाट पार्टी चल्दैन। तपाईँले गरेका गलत निर्णयका कारण अहिले कांग्रेस हार्नु परेको हो,' उनले भनेका थिए, 'धनि बाउले छोरीलाई दाइजो दिएजस्तो तपाईँले समानुपातिक सांसद बाँड्नु भयो। यो राजनीतिक भ्रष्टाचार हो।'
शेरबहादुरपक्षका नेताहरुले भने नेतृत्वको बचाउगर्दै वाम गठबन्धनका कारणले कांग्रेस हारेको बताएका थिए। साथै पौडेलको माग अनुसार अहिले समितिहरु विघटन गर्नुको कुनै औचित्य छैन भन्ने उनीहरुको धारणा थियो।
केन्द्रीय सदस्य महेन्द्र यादवले यो चुनावमा कांग्रेसको हार नभएको बताएका थिए। 'यो कांग्रेसको हार भएको हैन। एमाले माओवादी दुवै मिलेपछि उनीहरुलाई धेरै भोट आएको हो।'
वैठकमा उपस्थित एक केन्द्रीय सदस्यका अनुसार, उनीपछि बोलेका यूवा नेता प्रदीप पौडेलले यादवको भनाईमाथि सुरुमै टिप्पणी गरेका थिए।
'हार होइन नभन्नुस। २०७० सालमा हाम्रो एमाले भन्दा १ लाख १८ हजार बढी मत थियो। अहिले उनीहरु हामी भन्दा बढी मत ल्याएका छन्। यस्तो अवस्थामा हार भएको छैन भन्नु गलत हो। हार भएको हैन भन्ने हो भने हामी राम्रो निष्कर्षमा पुग्दैनौँ। यो हार नै हो यसलाई मानेर निकालिएको निष्कर्षले हामीलाई सुधार तिर लैजान्छ र पार्टी बलियो हुन्छ,,' उनले बैठकमा भनेका थिए।
उनले नेतृत्वले गरेका कमजोर निर्णयका कारण पार्टीले हार बेहोरेको बताएका थिए। 'नेतृत्वले परम्परागत तरिकाले चल्यो। पहिले चलेको भएपनि अब चल्नुहुँदैन। आजको नेतृत्वले केन्द्रीय समितिलाई समेत विश्वस्त तुल्याउन सक्दैन। तपाईँहरु हारमा सबैको दोष छ भन्नु हुन्छ। तर केन्द्रिय समिति निर्णयबाट अपवाद बाहेकलाई समानुपातिकमा नदोहोर्याउने भन्ने शब्द थपेको मैले हैन, नाकाबन्दीको विरोध गरेको छु, त्यसको बचाउन गर्ने मन्त्री म हैन, आइजी र महाअभियोग प्रकरण मेरो निर्णयले भएका हैनन्। यी सबै निर्णय नेतृत्वले गरेको थियो काँग्रेस हारको जिम्मा पनि उसैले लिनुपर्छ।'
बैठकमा नेताहरु कमला पन्त, किरण यादव, रामशरण महत लगायत नेताहरुले आफ्ना धारणा राखेका थिए।
विहान ११ बजे देखि बसेको बैठक साँझ ७ बजेमात्र स्थगित भएको थियो। शुक्रबार पनि बैठक जारी रहने छ।