एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटमा उम्मेदवारी दिने भएको छ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको दुई पार्टीको कार्यदलको बैठकले स्थानीय तहमा आएको मतपरिणामलाई आधार मानेर दुई पार्टीलाई सिट बाँडफाँड गरेको हो।
‘एमालेले २९ र माओवादीले १४ सिटमा उम्मेद्वारी दिने टुंगो लगाएका छौं,’ बैठकपछि एमाले नेता सुवास नेम्वाङले भने, ‘बाँकी १३ सिटको उम्मेदवारीका लागि अन्य दलहरुसँग छलफल गर्नेछौं।’
उनले ती अन्य दल को हुन् भन्नेबारे भने खुलाएनन्।
यसअघि प्रतिनिधि सभामा एमाले र माओवादीले ६० र ४० प्रतिशत उम्मेदवारी दिएका थिए। यसपालि भने एमालेले दोब्बर बढी सिटमा उम्मेदवारी दिने भएको हो।
राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ जना चुनावबाट निर्वाचित हुन्छन् भने तीन जना मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट नियुक्त हुन्छन्।
माघ २४ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ। यो चुनावमा प्रदेश सभा सदस्य र स्थानीय तहका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख मतदाता हुन्छन्।
चुनाव एकल संक्रमणीय प्रणालीमा हुनेछ।