आन्दोलनकारीले तुलसीपुर उपमहानगरपालिका पनि बन्द गराएका छन्।
आमहड्तालको समयमा उपमहानगरपालिका खोल्न खोजिएको भन्दै आन्दोलनकारीले बन्द गराएका हुन्। काममा आएका कर्मचारीलाई बाहिर निकालेर उपमहानगरपालिकाको गेटमै बन्दकर्ताले तालाबन्दी गरेका थिए। कार्यकारी अधिकृत टोपेन्द्र केसी, उपमेयर माया आचार्य लगायतका जनप्रतिनिधिहरूलाई समेत बन्दकर्ताले कार्यालयबाट बाहिर निकालेका हुन्।
यसैबीच आन्दोलनकारीले घोराही उपमहानगरपालिकाको कार्यालय पनि बन्द गराएका छन्। आन्दोलनकारीले प्रदेश राजधानी दाङलाई बनाउन माग गर्दै त्यसो नभए सबै सरकारी कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका थिए। त्यस्तै बुधबार बिहानैदेखि तुलसीपुर, नारायणपुर, लमही, भालुवाङ, गढवा र घोराही बजारमा प्रदर्शन र कोणसभा गरेका छन्।
घोराहीमा भएको विरोध र्यालीले नाराबाजी गर्दै घोराही बजारको परिक्रमा गरी तुलसीपुर चोकमा पुगेर कोणसभा गरिएको हो। कोणसभालाई माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य निर्मल आचार्य, नेपाली कांग्रेसका जिल्ला सचिव शंकर डाँगी, नेकपा एमालेका उपमहानगर इञ्चार्ज विवेक श्रेष्ठ, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मधुसुदन वैद्यले प्रदेश नं. ५ को राजधानी दाङ नभए कुनैपनि केन्द्रीय नेतालाई दाङ प्रवेश गर्न नदिने चेतावनी दिएका थिए। उनीहरूले जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा तालावन्दी गर्ने चेतावनी पनि दिएका छन्।
भौतिक संरचना, भौगोलिक अवस्था, उपयुक्त हावापानी,सुरक्षाको दृष्टिले दाङ नै प्रदेश राजधानीको लागि सबैभन्दा उपयुक्त रहेको दाबी गरेका थिए। वक्ताहरूले उच्च अदालत, प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय सभाको निर्वाचन, प्रदेश स्तरीय मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भइसकेको भएपनि सरकारले दाङका विरुद्ध षडयन्त्र गर्नु अन्याय भएको बताएका थिए।
कार्यक्रमका अध्यक्ष एवं प्रदेश राजधानी सरोकार समितिका संयोजक नारायण भुसालले सबै राजनीतिक दलहरूलाई आफ्नो पार्टीको झण्डा लिएर सडकमा आउन आग्रह गरेका थिए । कुनै पनि हालतमा दाङमा प्रदेशको राजधानी हुनुपर्ने माग गर्दै उनले बन्द विथोल्ने दुस्साहस नगर्न माग गर्दै त्यस्तो परिस्थिति आएमा सरकारी कार्यालयहरूमा ताला लगाउने चेतावनी दिएका थिए। उक्त कार्यक्रमको सहजीकरण समितिका सदस्य सचिव सविन प्रियासनले गरेका थिए ।