पुस २६ गते बुधबार बिहान सवा ९ बजे नेकपा एमालेका नेता सुवास नेम्वाङको मोबाइलमा घन्टी बज्यो। नेम्वाङ त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा थिए।
फोन कांग्रेस नेता मिनेन्द्र रिजालले गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटार पुगेका रिजालले नेम्वाङ बालकोट पुगेको थाहा पाएरै नम्बर डायल गरेका थिए।
नेम्वाङको मोबाइलमा घन्टी बज्दा छेउको सोफामा एमाले अध्यक्ष ओली थिए भने अर्कोतर्फ माओवादी अध्यक्ष प्रचण्ड।
रिजालसँग सामान्य कुराकानीपछि नेम्वाङले फोन एमाले अध्यक्ष ओलीलाई दिए। त्यतिञ्जेलमा रिजालले पनि फोन प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइसकेका थिए।
ओलीले फोनमा ‘हेलो’ भनेसँगै देउवाले उनको स्वास्थ्यबारे जिज्ञासा राखे।
निर्वाचन परिणाम आएयता देउवा र ओलीबीच 'तिक्तता' बढेको छ।
ओलीले वाम गठबन्धनले चुनाव जिते पनि देउवा सत्ता टाँसिइरहेको आरोप लगाउँदै आएका छन्।
देउवाले राष्ट्रिय सभा अध्यादेश जारी गर्न असहयोग गरेको आरोप लगाउँदै ओलीमा दम्भ बढेको निकटस्थ नेताहरुलाई बताएका थिए। सार्वजनिक आरोप-प्रत्यारोपसँगै दाहाल र ओलीको सम्बन्ध पनि चिसिएको थियो। दुई नेताबीच कुराकानी नभएको लामै समय भइसकेको थयो।
बहालवाला प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्रीबीच चिसिएको सम्बन्ध सुधार गर्न नेम्वाङ र रिजालले भूमिका खेलेका हुन्।
पुस २५ गते साँझ एउटा पार्टीमा नेम्वाङ र रिजालको भेट भएको थियो। कुराकानीकै क्रममा नेम्वाङले राजनीतिक नेतृत्वबीचको तिक्तता उचित नहुने बताए।
रिजालले पनि ‘सरकार चाहियो भन्ने तर प्रदेश प्रमुख नियुक्ति र प्रदेश राजधानी तोक्ने विषयमा असहयोग’ भएको बताए।
‘देश हाम्रै हो। प्रदेश हाम्रै हो। राजधानी अस्थायी भए पनि पछि पनि विवाद हुन्छ। अहिले मिलाउनु उचित हुन्छ’, रिजालले त्यो साँझ नेम्वाङसँग भएको कुराकानी उल्लेख गर्दै भने, ‘दुई नेताबीच कुरा गराउँदा राम्रो हुन्छ।'
रिजालका अनुसार कुराकानीमा प्रदेशको राजधानी र प्रदेश प्रमुखका विषयमा समेत सहमति हुन सक्ने सम्भावना नेम्वाङले औंल्याएका थिए। त्यही सम्भवनाका कारण दुई नेताबीच कुराकानी गराउने पहल भएको थियो।
‘पाँच वटा राष्ट्रिय पार्टी छन्। कुन व्यक्तिका लागि गर्ने। कस्तालाई प्रदेश प्रमुख नियुक्त गर्ने। कसलाई जिम्मा लगाउने भन्ने कुरा भयो’, रिजालले सेतोपाटीसँग भने, ‘बाटो खोल्न सकिन्छ भने राम्रो मान्छेलाई जिम्मा लगाउँ। नयाँ संविधान हो एउटाले राख्ने अनि अर्कोले हटाउने किन गर्ने। लब्धप्रतिष्ठित मानिस राखौं। प्रदेश प्रमुख ठूलो मान्छे हो भन्ने कुरा भयो।'
दुई नेताबीच टेलिफोन संवादको चाँजो मिलाउनकै लागि रिजाल २६ गते बिहान बालुवाटार पुगेका थिए। उनले बालकोट पुगेका नेम्वाङलाई फोन गरेका थिए।
नेम्वाङका अनुसार फोनमा प्रधानमन्त्री देउवाले ओलीलाई स्वास्थ्य लाभको कामना गरेका थिए। ओली सोही दिन पौने दुई बजे उपचारका लागि थाइल्याण्ड जाँदै थिए।
उपचारमा जानुअघि नै देउवा एमालेको सहमतिमा प्रदेश प्रमुख नियुक्त गर्न चाहेको बताए। एमाले र कांग्रेसका दुई-दुई र अन्य पार्टीलाई एक-एक प्रदेश प्रमुख बाँडफाँडको प्रस्ताव कांग्रेसले गरेको छ।
एमालेले प्रदेश प्रमुख सरकारले नियुक्त गर्ने विषय भएकोले आफूसँग सोध्न आवश्यक नै नरहेको बताउँदै आएको छ। एमालेले कांग्रेसले नियुक्त गरेका प्रदेश प्रमुख नयाँ सरकारले निरन्तरता नदिने स्पष्ट संकेत गरेको छ।
जसमा उसले माओवादीलाई समेत सकरात्मक बनाइसकेको छ।
तर प्रदेश प्रमुखसँगै प्रदेशको अस्थायी राजधानी तोक्दा विभिन्न आन्दोलन हुनसक्ने कारण देउवाले एमालेको सहमति खोजेका थिए। उनले प्रदेश प्रमुखको भागबन्डामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि सकरात्मक बनाइसकेका थिए।
देउवाले ओलीको सहमति खोजेका थिए।
फोनमा देउवाले प्रदेश प्रमुखमा सहमतिमा आउन आग्रह गरेका थिए।
'तपाईं उपचारमा जाने भए पनि यता मिलाउनका लागि कसैलाई जिम्मा दिनुहोस्,' देउवालाई उद्धृत गर्दै रिजालले भने।
ओलीले प्रदेश प्रमुख आफूहरुको विषय नभएको ठाडो जवाफ दिएक। नेम्वाङका अनुसार ‘सरकार गठनको बाटो खोल्नुस्’ भन्ने ओलीको सिधा जवाफ थियो।
‘फोनमा कुराकानी भए पनि सहमतितर्फ ओलीजीको कुरा आएन’, प्रधानमन्त्रीको छेवैमा बसेर टेलिफोन संवाद सुनेका रिजालले भने, ‘प्रधानमन्त्रीजीले सोमबार फर्कने भए त्यतिञ्जेल म पर्खन्छु भन्नुभयो।'
रिजालका अनुसार प्रधानमन्त्रीले प्रदेश प्रमुख नियुक्तिमा एमालेको सहमति पर्खिरहेका छन्। जसका कारण प्रदेश प्रमुखको नियुक्ति अड्किएको छ।
ओली भने प्रदेश प्रमुख नियुक्तिमा सहमतिमा आउने ‘मुड’मा छैनन्। ‘प्रधानमन्त्रीले एमालेले सहमति दिनुपर्यो भन्नुभयो’, नेम्वाङले कुराकानीबारे भने, ‘अध्यक्षज्यूले अध्यादेश ल्याउँदा हाम्रो सहमति नचाहिने अहिले किन चाहिने भन्नुभयो।'
प्रधानमन्त्री र ओलीबीच संवाद हुँदा प्रचण्ड सुनिरहेका थिए। ‘उहाँले मुन्टो हल्लाएर सहमति जनाउनुभयो’, नेम्वाङले प्रचण्डको हाउभाव ब्याख्या गरे।
रिजालका अनुसार २ गते ओली फर्किएपछि मात्र प्रधानमन्त्रीले प्रदेश प्रमुखबारे निर्णय लिनेछन्। माओवादीले सरकार छाडेपछि देउवाले माओवादी पनि सहमतिमा आउनेमा झस्किएका छन्।
त्यसो त गत शुक्रबारको मन्त्रिपरिषद् बैठकमा पनि देउवाले राजनीतिक दलहरुबीच छलफल गरेर मात्र प्रदेश प्रमुख नियुक्ति गर्ने बताएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
देउवाले धनगढी पुगेर पनि ३ गतेपछि मात्र प्रदेशप्रमुख नियुक्ति गर्ने बताएका छन्।