प्रधानन्यायाधीश गोपाल पराजुली बेञ्च तोकेर शुक्रबार रुकुम पुगेका छन्।
रुकुम टुक्रिएर बनेको ७७ औँ जिल्लामा नयाँ जिल्ला अदालत उद्घाटनका लागि उनी रुकुमकोट पुगेका हुन्।
सर्वोच्चले गत बुधबार पराजुलीको नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाएपछि कतिपय कानून व्यवसायीले नैतिक प्रश्न उठाएका थिए। उनीहरूले सर्वोच्चले पराजुलीको कागजपत्र छानबिन गर्न लागेकाले आफू विरुद्धको मुद्दामा इजलास तोक्न नमिल्ने बताएका थिए।
सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले बेञ्च तोक्छन्। अनि कुन मुद्दाको जिम्मा कसलाई दिने टुङ्गो गर्छन्।
सर्वोच्चका मिडिया कोअर्डिनेटर किशोर पौडेलका अनुसार पराजुली बेञ्च तोकेरै रुकुम पुगेका हुन्। ‘उहाँ भोलि आफैँ पनि इजलासमा बस्नुहुन्छ। इजलासमा बस्न नपर्ने कुनै व्यवस्था भएको छैन’, पौडेलले भने, ‘आजै फर्कनुहुन्छ।’