सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाएपछि उनीबारे धारणा बनाउन नेपाल बार एशोसिएशन सल्लाहकार र कार्यसमिति बैठक बस्ने भएको छ।
भोलि (शुक्रबार) नै बैठक बसेर प्रधानन्यायाधीश जोडिएको यो मुद्दामा नेपालबारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष शेरबहादुर केसीले सेतोपाटीलाई बताए।
त्रिवि शिक्षण अस्पतालका प्राध्याकप डा. गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामाथि सुनुवाई गर्दा सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उनले काम गर्ने वा नगर्ने भन्नेबारे गम्भीर प्रश्न उठेको छ।
एकथरीले नैतिकताको आधारमा उनले आफ्नो कामबाट अलग बस्नुपर्ने भनिरहेका छन्। अर्काथरिले भने संविधान र प्रधानन्याधीशले निर्वाध काम गर्न संविधान र कानुनले नरोकेको बताएका छन्।
यो विषयमा न्याय क्षेत्रमा निकै अर्थ राख्ने संस्था नेपाल बार एशोसिएशनको धारणा के हो भन्ने सेतोपाटीको प्रश्नमा नेपाल बारका अध्यक्ष शेरबहादुर केसीले भने, 'यसबारे नेपाल बारले भोलि नै आधिकारीक धारणा सार्वजनिक गर्दै छ त्यसअघि म केही भन्दिनँ।'
नेपाल बारका महासचिव खम्बबहादुर थापाले सल्लाहकार र कार्यसमिति बैठक भोलि बस्ने जानकारी दिए।
हिजोसम्म विचाराधीन मुद्दा थियो। हामीले अब बल्ल बारले यो विषयमा बोल्ने छ। त्यसअघि सल्लाहकार र केन्द्रीय समिति बैठक हुन्छ। हाम्रा सदस्यहरु टाढाबाट आउनुपर्ने हुन्छ,' उनले भने।
प्राध्यापक डाक्टर शशी शर्माको चार वर्ष पुरानो मुद्दामा फैसला गर्दै प्रधानन्याधीशसहितको इजलासले उनलाई ४ दिनकै लागि डिन पदमा पुनर्बहाली गरेपछि डाक्टर केसी क्रुद्ध भएका थिए।
बरिष्ठता वा मापदण्डका आधारमा शर्मालाई नियुक्त नगरिएको भन्दै डाक्टर केसी अनसन बसेपछि सरकारले उनलाई ४ वर्ष अघि नै डिनबाट हटाएको थियो। डिनबाट हटाएपछि पुनर्वहाली गर्न माग गर्दै शर्मा रिट लिएर सर्वोच्च गएका थिए। उक्त रिटमा फैसला गर्दै ४ दिनका लागि भए पनि शर्मा बहाली हुन सक्ने फैसला गरेपछि गरेपछि डाक्टर केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै अनसन बसेका थिए। उनले पराजुली भ्रष्ट र माफिया भएको आरोप लगाएका थिए।
यस्ता आरोपले अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतले नै प्रतिवेदन उठाएर केसी विरुद्ध कारबाही चलाएको थियो। सर्वोच्चकै एक इजलासले उनलाई पक्राउ गरेर अदालत ल्याउन प्रहरीलाई आदेश गरेको थियो। सोमबार दिउँसोको आदेश अनुसार प्रहरीले राती ८ बजे पक्राउ गरेका थिए।
मंगलबार सर्वोच्चले केसीको बयान लिएको थियो। बुधवार यो मुद्दामा बहस भएको थियो। बहसका क्रममा केसीका वकिलले पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र छानविन गर्न माग गरेका थिए।
माग अनुसार न्यायाधीश पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको इजासले प्रधानन्यायाधीशका नागरिकता र शैक्षिक प्रमाणपत्र साथै शशी शर्माको फैसला पनि झिकाएको छ।