डाक्टर गोविन्द केसीलाई अवहेलना लगाएपछि छानविनको घेरामा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई नैतिकताका आधारमा उचित निर्णय लिन उच्च अदालत पाटनको बार एशोसिएशनले ध्यानाकर्षण गरेको छ।
डाक्टर गोविन्द केसीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले लगाएको मुद्दामा बहस सुनेपछि न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले प्रधान्यायाधीशका दुबै नागरिकता, उमेर विवादसम्बन्धी न्यायपरिषदको निर्णय र शैक्षिक प्रमाणपत्र झिकाएको छ।
यसरी सर्वोच्चकै छानविनको घेरामा परेपछि प्रधानन्यायाधीशले नैतिकताका आधारमा उचित निर्णय लिन उच्च बारले विज्ञप्ति निकालेर ध्यानाकर्षण गरेको हो।
उक्त विज्ञप्तिमा भनिएको छ, 'स्वतन्त्र र सक्षम न्यायपालिकाका प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र र नागरिकताका सम्बन्धमा उठेका सार्वजनिक विवादहरु अब सर्वोच्च अदालतकै छानविनको घेरामा परिसकेको सन्दर्भमा सार्वजनिक जावाफदेहीमा रहने हरेक पदाधिकारीले आफ्नो नैतिकतालाई कुन धरातलमा राख्ने हो सो को निर्धारण आफै गर्नुपर्ने हुनाले यस सम्बन्धमा उचित निर्णय लिन यस बार सम्माननीय प्रधानन्यायाधीशको ध्यानाकर्षण गर्दछ।'
केसीका वकिलले पराजुलीले किर्ते नागरिकता बनाएको भन्दै उनीविरुद्ध कारबाही चलाउन बहसका क्रममा भनेका थिए। प्रधानन्यायाधीश गोपाल पराजुलीको वर्खास्तगी माग गर्दै अनसन बसेपछि सर्वोच्चले अदालतको अवहेलनामा केसीलाई सोमबार पक्राउ गरिएको थियो।
डाक्टर गोविन्द केसीले पराजुलीलाई भ्रष्ट र माफिया भएको आरोप लगाएका छन्।