नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले समझदारीका आधारमा दुई पार्टीका बीचमा पार्टी एकता हुने बताएका छन्।
बुधबार दाङको टरिगाउँ एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा उनले दुई पार्टीका प्रमुख नेताका बीचमा भएको बैठकले समझदारीका आधारमा पार्टी एकताको कुरालाई तीव्रता दिने प्रतिबद्धता जाहेर गरेको बताए ।
दुई पार्टीका बीचमा राष्ट्रिय सभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनबारे निर्णय लिन गठित कार्यदलका सदस्य समेत रहेका पोखरेलले
कार्यदलको बैठक सकेर आफू गृह जिल्ला दाङ आएको बताएका पोख्रेलले दुई पार्टी एकताको लागि तीनवटा कुराहरूमा एकरूपता आवश्यक रहेको बताए।
‘सिद्धान्त र कार्यक्रममा एकरूपता, विधि र पद्धतिमा एकरूपता र नेतृत्वको प्रश्नमा समायोजन वा संगठनात्मक व्यवस्थापन जस्ता कुराहरू पार्टी एकताको आधार हुन्,’ नेता पोखरेलले भने। उनले त्यही आधारमा कार्यदलले काम गर्ने बताए।
केपी शर्मा ओली पार्टी अध्यक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सह–अध्यक्ष बन्ने कुरा सञ्चारकर्मीहरूका बीचमा भएका चर्चा मात्रै भएको बताएका उनले उक्त विषयमा आफूहरू प्रवेश नै नगरको बताएका थिए। पार्टी एकता पहिला कि सरकार गठन पहिला ? भन्ने पत्रकारको प्रश्नमा नेता पोखरेलले ‘जतिबेला जुन चिज सम्पन्न हुन्छ त्यो पहिला हुन्छ’ भन्ने जवाफ दिएका थिए।
जनताले चुनेपनि राज्यले नचिनेको गुनासोदाङको निर्वाचन क्षेत्र नं. २ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेता पोख्रेलले जनताले आफ्नो नेता चुनेपनि सरकारले जनप्रतिनिधिलाई नचिनेको भन्दै गुनासो गरेका छन्।
एक महिना बितिसक्दा पनि जनताले चुनेका प्रतिनिधिलाई राज्यसँग जोड्ने कर्तव्य राज्य र निर्वाचन आयोगले पूरा नगर्नु बिडम्वना भएको उनले बताए। ‘जनताले चुने तर राज्यले अझै हामीलाई चिनेको छैन यो जनमतको अपमान हो,लोकतन्त्रको बिडम्वना हो,’ नेता पोखरेलले भने।
जे वाहानाबाजी गरेपनि कर्तव्य पूरा नगर्ने कुरा कुनैपनि हालतमा उचित मान्न नसकिने उनले बताए। ‘अनेक समस्याका गाँठाहरू फुकाउँदै उल्झनहरू सुल्झाउने दायित्व सरकार र निर्वाचनको हो, तर यहाँ त्यसैमा बाहानाबाजी गर्दै रमाउने खेल भइहरेको छ, जो लोकतन्त्रको मजाग हो,’ नेता पोखरेलले भने ।
यसका साथै उनले जिम्मेवारी हस्तान्तरण गर्न छोडी सरकार र निर्वाचन आयोग बाहानामा रमाउनु खोजेको आरोप लगाए।
बुधबार बिहान मात्रै पार्टी एकताको लागि दुई पार्टीका नेतृत्वको बीचमा कार्यदलसहितको महत्वपूर्ण छलफल भएको बताएका नेता पोखरलेले प्रदेशको केन्द्र तोक्ने काम सरकारको भएको भन्दै त्यसमा कुनै विमत्ति नरहने स्पष्ट पारे ।
‘बैठकपछि वाम गठबन्धनका दुवै शीर्ष नेतृत्व र प्रधानमन्त्रीका बीचमा सम्वाद भएको र उहाँहरूले प्रदेश सभाको अस्थायी केन्द्र तोक्दा कुनै विमत्ति नरहेको कुरा स्पष्ट पार्नु भएको छ।’ वामगठबन्धनले मुख्यमन्त्रीका रूपमा प्रस्तावित नेता पोखरेललले भने ‘सरकारले अस्थायी केन्द्र तत्काल तोक्नुपर्छ, त्यसमा कुनै आनाकानी र बाहानाबाजी स्वीकार्य हुनेछैन।’
तर उनले स्थायी राजधानी भने प्रदेशसभाले मात्रै तोक्ने स्पष्ट पारे। नेपाल सरकारले गठन गरेको कार्यदलले समेत सबैभन्दा कम खर्चमा दाङमा अस्थायी केन्द्र सञ्चालन गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन बुझाएको नेता पोखरलले बताए।
त्यसैलाई आधार मान्दै सरकारले तत्काल प्रदेशको अस्थायी केन्द्र दाङलाई तोक्नुपर्ने उनको धारणा थियो । उक्त अवसरमा उनले दाङको एक मात्रै एयरपोर्ट टरिगाउँ एयरपोर्टमा नियमित विमान उडान गर्नका लागि धावनमार्गको विस्तार आवश्यक रहेको बताए । भविष्यमा थप ठूला विमान सञ्चालन गर्नका लागि धावनमार्गको विस्तार आवश्यक रहेको र त्यसका लागि प्राधिकरणसँग परामर्श जारी रहेको उनले बताए ।