नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनबारे निर्णय लिन कार्यदल बनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको संयोजन समितिको बैठकले सुवास नेम्वाङको संयोजकत्वमा कार्यदल बनाएको हो। एमाले उपाध्यक्ष बामदेव गौतमका अनुसार कार्यदलले राष्ट्रिय सभा गठन, प्रतिनिधि सभाको पूर्णता, प्रदेश सभा र प्रदेश सरकारको सहज गठनका लागि काम गर्नेछ।
कार्यदलमा एमालेका ३ र माओवादी केन्द्रका ३ नेता रहेका छन्। नेम्वाङ सहित एमालेबाट सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेको कार्यदलमा माओवादीबाट रामबहादुर थापा बादल, बर्षमान पुन र मातृका यादव रहेका छन्।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका बुधबार सार्वनजिक गर्दैछ। प्रतिनिधि सभा निर्वाचनमा ६०/४० को भागवण्डा गरेका दुई दलले राष्ट्रिय सभामा पनि सोहि अनुसारको भागवण्डा गर्दैछन्।
त्यस्तै सातै प्रदेशमा सरकार निर्माणका लागि समेत दुई दलले अग्रसरता देखाएका छन्। प्रदेश नं २ बाहेक ६ प्रदेशमा गठबन्धनको बहुमत छ। कार्यदलले प्रदेश सरकारको मुख्यमन्त्री देखि सरकारमा रहने मन्त्रीसम्मको भागवण्डा मिलाउनेछ।
बैठक पार्टी एकताका लागि कार्यदल गठन गर्ने विषयमा छलफल गरेपनि निष्कर्षमा भने पुग्न सकेनन्। गौतमले सैद्धान्तिक र संगठनात्मक स्वरुप निर्माणबारे कार्यदल बनाउने विषयमा अर्को बैठकमा छलफल हुने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि बुधबार थाइल्याण्ड जाँदैछन्। ओली फर्किएपछि एकता संयोजन समितिको बैठक बस्ने गौतमले जानकारी दिए।