डाक्टर गोविन्द केसीले अदालतको मानहानी गरेको मुद्दामा बयान सकिएको छ। तर मुद्दामा बहस भने भोलि मात्र सुरू हुने भएको छ।
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासमा दिउँसै बहस सुरू गर्ने तयारी भएपनि बयान नसकिदाँ बहस सरेको हो। केसीलाई आज पनि सिंहदरबार स्थित हिरासतमै राखिने भएको छ। हिरासतमा समेत अनसनमा रहेका केसीको साथमा प्रहरीले डाक्टर समेत राखेको छ।
मंगलबार दिनभर उनी अदालत परिसरमा समेत प्रहरी एम्बुलेस भित्रै बसेका थिए।
केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहसको नेतृत्व गर्नेछन्। भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीलगायत वकिलले बहसका लागि नाम लेखाएका छन्।
केसीको विपक्षमा रमण श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्नेछन्।